राष्ट्र बैंकले भन्यो- शेयर धितोमा १२ करोड बढी पनि ऋण लिन पाईन्छ तर …

0
Shares

नेपाल राष्ट्र बैंकले शेयर धितोमा १२ करोड बढी पनि ऋण लिन पाइने प्रष्ट्रिकरण दिएको छ ।

राष्ट्र बैंकले अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो सीमा नलाग्ने जनाएको छ ।

शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीति मार्फत एउटा बैंकिङ संस्थाबाट बढिमा ४ करोड र सबैमा गरेर १२ करोडसम्म शेयर धितोमा ऋण लिन पाउने ब्यवस्थाको विरोध जनाइरहेका बेला राष्ट्र बैंकबाट यस्तो प्रष्ट्रिकरण आएको हो ।

राष्ट्र बैंकले आफ्नो वेवसाइटमा बारम्बार सोधिने प्रश्नहरु (एफएक्यु) शीर्षकमा सोधिएको एक प्रश्नको जवाफमा शेयर धितो ऋण बारे प्रष्ट्याएको हो ।

के व्यवसाय गर्नको लागि शेयर धितो राख्न पाइन्छ ? यस्तो कर्जा लिँदा समेत मार्जिन कर्जाको एकल ग्राहक कर्जा सीमा लागू हुन्छ ? भन्ने एक जिज्ञासाको जवाफमा राष्ट्र बैंकले उद्यमी व्यवसायीहरुले उद्योग व्यवसायका लागि अन्य धितो सँगै शेयर समेत धितो राख्न चाहेमा शेयर धितो राखी कर्जा लिन पाउने उल्लेख गरेको छ ।

राष्ट्र बैंकले भनेको छ ‘बैंक तथा वित्तीय संस्थाले व्यवसायीक प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि अन्य सम्पत्ति धितो राखे सरह अतिरिक्त धितोको रुपमा शेयर समेत धितोको रुपमा राख्न सक्छन् । अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रुपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोडको सीमा लागू हुँदैन ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।