बजेटको आकार १५ अर्बले घटाइयो, आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत

0
Shares

शेर बहादुर देउवा नेतृत्वको सरकारले केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री शर्माले १४ अर्ब ७४ करोडले बजेटको आकार घटाएका हुन् ।

बजेटको आकार घटाएपनि अर्थमन्त्री शर्माले आर्थिक वृद्धिको लक्ष्य भने ६.५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएका छन् ।

कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.५२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको उनले जानकारी दिए।

संसदमा तीनवटै विधेयक प्रस्तुत गर्दै पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार अर्थमन्त्री शर्माले घटाएको जानकारी दिएका हुन्।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पूँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।