कर्णाली प्रदेशका बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९८ प्रतिशत

0
Shares

कणार्ली प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९८.२० प्रतिशत रहेको छ । कणार्ली प्रदेशका बैंक वित्तीय संस्थाले निक्षेप संकलनको हाराहारीमा नै कर्जा लगानी गरेपछि कर्जा निक्षेप अनुपात उच्च भएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४३ अर्ब ४३ करोड निक्षेप संकलन गरेका छन । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ४२ अर्व ६४ करोड रुपैयाँ लगानी गरेका छन् । यो भनेको कर्जा निक्षेप अनुपात ९८.२० प्रतिशत हो । अघिल्लो आवको सोही अवधिमा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १११.१३ प्रतिशत रहेको थियो ।

कर्णाली प्रदेशमा हालसम्म बैंक तथा वित्तीय संस्थाका ४०६ शाखा रहेका छन् । यस प्रदेशमा वाणिज्य बैंकहरुका १९० शाखा रहेका छन् । समग्र बैकिङ्ग क्षेत्रमा रहेको कुल निक्षेप र कर्जामा यस प्रदेशको हिस्सा क्रमशः १.०१ प्रतिशत र १.१७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हालसम्म ७ मेगावाट मात्र जलविद्युत उत्पादन भएको यस प्रदेशको जलविद्युत उत्पादनको कुल क्षमता भने १८ हजार मेगावाट भन्दा बढि रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान रहेको यो प्रदेशमा कृषि, पर्यटन र उर्जाको क्षेत्रमा बढी सम्भावना छन् । यस प्रदेशको अधिकांश भू–भाग पहाडी तथा उच्च हिमाली क्षेत्रले ओगटेको हुँदा बहुमुल्य जडीबुटी तथा खनिज तेल, खानी र रत्नहरुको भण्डारको रुपमा रहेको छ ।

सहुलियतपूर्ण कर्जाको उच्चतम प्रयोग गरी उचित सदुपयोगिता मार्फत साना तथा मझौला उद्योगहरुको विकास र विस्तार गर्न सकिने सम्भावना यस प्रदेशमा रहेको छ । यस प्रदेशमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पनि लगानीको खाँचो रहेकाले त्यसतर्फ पनि रोजगारी सिर्जना हुने देखिन्छ ।

वैदेशिक रोजगारीका लागि भारत तथा खाडी मुलुकमा जाने गरेका अधिकांश युवा जनशक्तिलाई प्रदेशमै रोजगारीको अवसर सिर्जना गरी बढ्दो गरिबी तथा बेरोजगारीलाई न्यूनीकरण गर्नु, भौगोलिक विकटताका बावजुद यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको पूर्वाधार तथा आधारभूत सेवाको विस्तारगरी समग्र पूर्वाधार क्षेत्रको विकास गर्नु आवश्यक देखिन्छ । न्यून आय तथा रोजगारीको कारणले शिक्षा तथा स्वास्थ्यको पहुँचमा आउन नसकेको जनसंख्याको हिस्सालाई न्यूनीकरण गर्दै स्थापित संयन्त्रहरुको विकास र विस्तार गर्ने कार्य पनि यस प्रदेशको मूख्य चुनौती हो ।

गत आर्थिक वर्षको पुसम्ममा कणार्ली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामध्ये ७.७४ प्रतिशत कर्जा कृषि क्षेत्रमा रहेको छ । त्यसैगरी कुल कर्जा मध्ये १५.७० प्रतिशत औद्योगिक क्षेत्रमा प्रवाह भएको छ । समीक्षा अवधिमा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३७.३७ प्रतिशत र कुल कर्जा प्रवाह २१.३९ प्रतिशतले वृद्धि भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।