विकास बैंकहरुमा पनि कर्जाको माग उच्च, सातामै साढे ५ अर्बले विस्तार

0
Shares

राष्ट्रिय तथा क्षेत्रियस्तरका विकास बैंकहरुमा कर्जाको माग उच्च देखिएको छ । बैंकहरुमा कर्जा विस्तारमा आक्रमक बन्दा निक्षेप संकलन भने सुस्त देखिएको छ ।
गत सातामा मात्रै विकास बैंकहरुले ५ अर्ब ५१ करोड ८० लाखले कर्जा विस्तार गरेका छन् । जबकी यो अवधिमा निक्षेप २ अर्ब ४८ करोड थपिएको छ ।

भदौ महिनाको अन्त्यसम्म विकास बैंकहरुको निक्षेप तथा कर्जा दुबैको आकार भने बढेको छ । असोज १ गतेसम्म १५ वटा विकास बैंकहरुको निक्षेप ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै असोज १ सम्म १५ विकास बैंकले ४ खर्ब २ अर्ब ४० करोड कर्जा प्रवाह गरेका छन् । एक सातामा विकास बैंकहरुको निक्षेप ०.५५ प्रतिशत तथा कर्जा प्रवाह १.३९ प्रतिशतले बढेको हो ।

यसअवधिमा राष्ट्रिय क्षेत्रियस्तरका विकास बैंकहरुको निक्षेप २ अर्ब ४८ करोड रुपैयाँले बढेकोे छ । डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालका अनुसार क्षेत्रियस्तरका विकास बैंकको निक्षेप भने घटेको छ । यसअवधिमा राष्ट्रियस्तरका विकास बैंकको निक्षेप ०.५९ प्रतिशतले बढ्दा क्षेत्रीस्तरको सामान्य घटेको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा ५ अर्ब ३९ करोड १४ लाख रुपैयाँले वृद्धि हुँदा क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा १२ करोड ६६ लाखले मात्र बढेको छ । राष्ट्रियस्तरका विकास बैंकको कर्जा १.४६ प्रतिशतले बढेको हो भने क्षेत्रीयस्तरका विकास बैंकको कर्जा ०.४५ प्रतिशतले बढेको छ ।

डेभलपमेन्ट बैंकर एशोसिएसन नेपालले उपलब्ध गराएको तथ्यांकमा १८ वटा विकास बैंक सञ्चालनमा रहे पनि यो १५ वटाको मात्रै उपलब्ध छ । हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंक सञ्चालनमा छन् । उक्त तथ्याकंमा विजनेश कर्पोरेट डेभलपमेन्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याकं समावेश गरिएको छैन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।