घरजग्गा, सवारी तथा मार्जिन लगायतका कर्जा पुनरकर्जाका लागि अयोग्य

0
Shares

नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट, घरजग्गा,सवारी, घरायसी सामग्री, मार्जिन, सुनचाँदी, सामाजिक तथा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरूहरुलाई पुनरकर्जाका लागि अयोग्य कर्जाहरूको सूचीमा राखेको छ ।

राष्ट्र बैंकले जारी गरेको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७ मा यस्तो व्यवस्था रहेको छ । कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा,सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरू पुनरकर्जाका लागि अयोग्य हुनेछन् ।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य नमानिने राष्ट्र बैंकले प्रष्ट पारेको छ।

व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, पछिल्लो आर्थिक वर्षको रिटन अन इक्वीटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जाहरु पनि पुनरकर्जाका लागि अयोग्य हुनेछन् ।

त्यसैगरी चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग/व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग/व्यवसायलाई प्रवाह भएका कर्जाहरु साथै बैंकले समय समयमा तोकेका अन्य कर्जाहरु पुनरकर्जाका लागि अयोग्य हुने राष्ट्र बैंकको भनाई छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।