राष्ट्र बैंकले ३० अर्ब दिँदा बैंकहरुले मागे ६१ अर्ब ३० करोेड

0
Shares

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या उत्कर्षमा पुगेको छ ।कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो ।

सरकारले बजेट खर्च गर्न नसक्दा नयाँ निक्षेप सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । साथै चाडपर्व लक्षित व्यवसाय तथा कारोबार विस्तारका लागि बैंकहरुमा कर्जाको माग अत्याधिक रहेको छ भने निक्षेप समेत घट्न थालेको छ । जसले गर्दा तरलता अभावसँगै अन्तर बैंक कारोबारको ब्याजदरले सीमा पार गरेको छ ।

बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र अन्तर बैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बुधबार ३० अर्बको रिपो जारी गरेको छ । केन्द्रीय बैंकले ३० अर्ब बराबरको रिपो जारी गर्दा बैंकहरुले भने ६१ अर्ब ३० करोड रुपैयाँ माग गरेका छन् । राष्ट्र बैंकले बुधबार जारी गरेको रिपो असोज २० गते परिपक्क हुनेछ।

यसअघि पनि राष्ट्र बैंकले असोज ७ गते ३० अर्ब बराबरको ७ दिने, भदौ ३१ गते २० अर्ब बराबरको १४ दिने, भदौ २४ गते २० अर्ब बराबरको १४ दिने र भदौ १७ गते २० अर्ब बराबरको ७ दिने रिपो जारी गरेको थियो । चालु आर्थिक वर्ष सुरुभएयता राष्ट्र बैंकले ५ पटकमा गरेर एक खर्ब ३० अर्बको रिपो जारी गरिसकेको छ।

चालु आर्थिक वर्ष सुरु भएसंगै वित्तीय प्रणालीबाट निक्षेप बाहिरिने र कर्जा लगानी विस्तार हुने क्रम बढेको छ । त्यसैगरी सरकारले करको रुपमा उठाएको पैसा पनि खर्च नगरी ढुकुटीमा सञ्चित गरेर राखेको अवस्था छ । कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधि सुचारु भएसंगै बैंकमा निक्षेप नथपिने र बैंकमा भएको पैसा पनि बाहिरिने क्रमले तरलताको समस्या झनै जटील बन्दै गएको हो । त्यसका साथै चालु आर्थिक वर्ष सुरु भएसंगै रेमिट्यान्स आप्रवाहमा पनि कमी आएकाले बैंकहरुमा निक्षेप घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा बैंकहरुको अन्तर बैंक ब्याजदर पनि ५ प्रतिशतको हाराहारीमा पुगेपछि बैंकहरुले नेपाल राष्ट्र बैंकबाट एसएलएफ उपभोग गरेका छन् । बुधबार मात्रै बैंक तथा वित्तीय संस्थाले १५ अर्ब ७२ करोड बढी रकम एसएलएफ प्रयोग गरेको अवस्था छ ।

बैंकहरुमा तरलताको अभाव चुलिदा रिपोको ब्याजदर समेत बढ्दै गएको छ । बुधबार जारी भएको ३० अर्बको रिपोका लागि १८ बैंकले ९९ आवेदन मार्फत ४.९१ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । जसको औसत ब्याजदर ४.९३ प्रतिशत कायम भएको छ । जुन अघिल्लो पटको भन्दा धेरै हो । अघिल्लो बैंकहरुले ४.९० प्रतिशत ब्याजदरमा रिपो कबोल गरेका थिए । बैंकहरुले बुधबार मात्रै ३४ करोडको ओभरनाइट रिपो प्रयोग गरेका छन् ।

रेमिट्यान्सको आप्रवाह दरमा आएको कमि र सरकारी खर्च बढ्न नसक्दा वित्तीय क्षेत्रमा नयाँ निक्षेप आउँन सकेको छैन् । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गरेर तरलता प्रवाह गर्ने र तरलता धेरै हुँदा प्रशोचन गर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।