धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि अर्थसचिव सहितको समिति गठन

0
Shares

नेपाल सरकार अर्थ मन्त्रालयले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले बुधबार बोर्ड अध्यक्ष छनौटका लागि अर्थसचिव, योजना आयोगका सदस्य तथा एक विज्ञ सहितको समिति गठन गरेको हो ।

समितिको संयोजकमा योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्य डा. रामकुमार फुयालले गर्ने अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

त्यसैगरी अर्थमन्त्रालयका अर्थ सचिव सदस्य र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । प्रा. डा पौडेल मध्य पश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार हुन् । उनी वित्त शास्त्रका विज्ञ समेत हुन् ।

अर्थमन्त्रीको निर्णयमा गठन भएको सिफारीस समितिले कार्यविधि बनाई आवेदन आह्वान गर्नेछ । समितिले आवेदक मध्येबाट योग्य ३ जना मध्ये एक नियुत्तीका लागि सरकारलाई सिफारीस गर्नेछ । सोही सिफारिसमध्येबाट एक जनालाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

४ वर्ष कार्यकाल हुने बोर्डको अध्यक्ष कार्यकारी पद हो । बोर्डको अध्यक्ष हुनका लागि कुनै विशिष्टिकृत विषयको अध्ययनको आवश्यकतामा ऐनले जोड नदिई स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति अध्यक्ष हुनसक्ने व्यवस्था गरेको छ । तर, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।