धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया सुरु, यस्ता छन् चर्चामा आएका नाम

0
Shares

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया अगाडि बढाएको छ । सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको हो।

अध्यक्ष नियुक्तिका लागि छनौट तथा सिफारीस समितिले पदपूर्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले केही दिनअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयालको नेतृत्वमा छनौट तथा सिफारीस समिति गठन गरेको थियो।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेको सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रकृया सुरु गरेको हो। ढुङ्गानाले बोर्डको अध्यक्ष रहेका बेला छोरी र परिवारका नाममा सर्वोत्तमको शेयर खरिद गरेको पाइएको थियो ।

अध्यक्ष नियुक्तिका लागि छनौट तथा सिफारीस समितिले आगामी १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ।

अध्यक्ष हुनका लागि धितोपत्र बजार ब्यवस्थापन, पुँजी बजार विकास, आर्थिक वित्तीय, बाणिज्य, ब्यवस्थापन वा कानुननमा कम्तिमा सात बर्षको पेशागत अनुभव अनिवार्य छ। यसका साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र ३० वर्षदेखि ६० वर्ष उमेर भित्रको नेपाली नागरिक हुनुपर्ने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

अध्यक्षको आवेदनका लागि ३ हजार रुपैयाँ आवेदन दस्तुर तोकिएको छ र व्यवसायीक कार्ययोजना समेत माग गरिएको छ ।

बोर्ड अध्यक्षका लागि बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं र आईक्यानका पूर्व अध्यक्ष कृष्ण आचार्यको नाम चर्चामा रहेको छ ।

सिफारीस समितिले आवेदक मध्येबाट योग्य ३ जना मध्ये एक नियुत्तीका लागि सरकारलाई सिफारीस गर्नेछ । सोही सिफारिसमध्येबाट एक जनालाई सरकारले अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।