भाटभटेनीमा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने


नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् ।

टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरेका छन् । भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको हो । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे र सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।

कार्यक्रममा राष्ट्र बैंकका गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रेय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिएका थिए । कार्यक्रममा उनले भने “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएकोे छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”

यस्तै कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनीकोसँगको सहकार्य अर्को कोशेढुंगा बन्ने बताए ।

यस्तै भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबद्र्धन गर्न छुटको अफर पनि दिइएको बताएका थिए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट गराउने भाटभटेनीको योजना रहेको उनको भनाई थियो । अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले जानकारी दिए ।

डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट छन् । बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो ।

कम्पनीले सेवा सुरू गर्ने वित्तिकै कोभिड १९ महामारिका कारण लामो समय लकडाउनमा बस्नुपरे पनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ । यस्तै अन्तरबैंक रकम ट्रान्स्फर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।