नेप्से २% बढ्दा २८३७ बिन्दुमाः दर्जन कम्पनीको मूल्य ९ प्रतिशत धेरै बढ्यो

0
Shares

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ प्रतिशतले बढेको छ । गत साता ९ प्रतिशत बढेको नेप्से वृद्धिलाई साथ दिनेगरी यो साताको पहिलो दिन नै सूचक २ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा आएको बढोत्तरीले बैंकिङ्ग बाहेक सबै उपसमुहका सूचकमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबारमा आएका एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्दा शेयर बजारका लगानीकर्ता उत्साहित बनेका छन् ।

बजार खुलेको सुरुवाती दश मिनेटसम्म बढेको नेप्से त्यसपछि केही घटेपनि आधाघण्टा नपुग्दै पुनः उकालो लाग्न थालेको थियो । अन्तिममा नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो । नेप्से १.९९ प्रतिशतले बढेको हो । यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले बढेर ५३०.४६ बिन्दुमा पुगेको छ ।

यसदिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रूपैयाँ बराबरको कारोबार भएको छ । कूल २३२ वटा कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर ८१ हजार ९३५ पटक खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका २३२ कम्पनीमध्ये १८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३५ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

सूचक बढेसँगै आइतबार कारोबार रकममा पनि सुधार आएको छ । गत बिहीबार ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबारमा आएकोमा आइतबार २ अर्ब ४२ करोड ८० लाख रुपैयाँले बढेको हो । यसअघि दैनिक कारोबार रकम ३ अर्ब रुपैयाँभन्दा तल खुम्चिएको बढेर पौन ८ अर्ब पुगेको हो ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये बैंकिङ बाहेक सबै समुहको परिसूचक उकालो लागेको छ । बैंकिङ्ग ०.१६ प्रतिशतले घट्दा विकास बैंक सूचक सर्वाधिक ६.५४ प्रतिशतले बढेको छ । ब्यापार ५.९६, जलविद्युत ५.५०, होटल ५.४४, उत्पादन ४.८८, निर्जीवन बीमा ४.८३, वित्त ३.५३ र लगानी ३.२१ प्रतिशतले बढेको छ ।

एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत धेरै बढ्यो

आइतबारको बजारमा एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको छ । यसदिन युनाईटेड इन्स्योरेन्स, चन्द्रगिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लुम्बिनी विकास बैंक, र पाँचथर पावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबारदेखि नै कारोबारमा आएको साहस उर्जा, रैराङ हाइड्रोपावर, कामना सेवा विकास बैंक, सानिमा माइ हाइड्रोपावर, सबैको लघुवित्त, र सिनर्जी पावरको शेयरमूल्य ९ प्रतिशत धेरै बढेको हो ।

हिमाल दोलखा हाइड्रोपावर, महुली लघुवित्त, सिभिल लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, उन्नति सहकार्य लघुवित्त, ज्योति विकास बैंक, समता घरेलु लघुवित्त, सिन्धु विकास बैंक, मानुषी लघुवित्त,र युनियन हाइड्रोपावर कम्पनीके मूल्य ८ प्रतिशत धेरै बढेको छ । यसदिन उच्च मूल्य बढ्ने कम्पनीको सूचीमा धेरै जलविद्युत क्षेत्रका कम्पनी रहेका छन् ।

एभरेष्ट बैंकको मूल्य सर्वाधिक घट्यो

गत आवको नाफाबाट अपेक्षित लाभांश घोषणा नभएपछि एभरेष्ट बैंकको शेयरमूल्य आइतबार सर्वाधिक घट्यो । बैंकको शेयर ६.५० प्रतिशत अर्थात ४८ रुपैयाँ घटेर ६९१ रुपैयाँमा झरेको हो । गत आवको नाफाबाट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसैगरी आइतबार एभरेष्ट बैंकको कन्र्भटेबल प्रिफरेन्स शेयरको मूल्य ३.६३, बेष्ट फाइनान्स २.२२ प्रतिशतले घट्दा एनआईसी एशिया डिबेञ्चर २०८१/८२, जीवन विकास लघुवित्त, नबिल बैंक, सानिमा लार्ज क्याप फण्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंकको शेयरमूल्य पनि १ प्रतिशत धेरैले घटेको छ ।

आँखुखोलाको उच्च कारोबार

आइतबार आँखुखोला हाइड्रोपावर कम्पनीको सर्वाधिक ३१.५७ करोडको शेयर खरीद बिक्री भएको छ । यसैगरी नबिल बैंकको २८.०३ करोड, एभरेष्ट बैंक २७.७९ करोड, सिद्धार्थ बैंक २४.३५, हिमालयन डिष्टिलरी २२.९४, अपि पावरको २२.७४ करोड बराबरको कारोबार भएको छ ।

यस्तै एनआईसी एशिया बैंक १९.७० करोड, महालक्ष्मी विकास बैंक १७.६७ करोड, अरुण भ्याली १७.५९ करोड र नेशनल हाइड्रोपावरको १६.१५ करोड रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।