डण्डी उद्योगीहरुको भन्सार विवादले औद्योगिक वातावरण प्रदुषित

डण्डी उद्योगीहरुको भन्सार विवादले औद्योगिक वातावरण प्रदुषित

संघीय संसदको अर्थ समितिले डण्डी उद्योगीहरुको भन्सार विवादले औद्योगिक वातावरण प्रदुषित बन्दै गएको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयलाई टुङ्गोमा पुर्याउन आग्रह गरेको छ । जसका लागि समितिले आगामी बैठकमा अर्थमन्त्रालसँग छलफल गर्ने भएको छ ।

समितिले डण्डी उत्पादकहरुको वीवाद उपभोताको हितमा हुनेगरी सुल्झाउनुपर्ने निष्कर्षसमेत निकालेको छ । डण्डी उत्पादकहरुको प्रतिस्पर्धा कार्टेलिङ्मा नभई उपभोत्ताको हितमा हुनुपर्ने भन्दै उत्पादहरुबीचको समस्या सुल्झाउन सरकारको ध्यानकर्षण गराएको छ । साथै समितले हाल संचालनमा रहेका उद्योग र लगानीकर्ता खुम्चनुपर्ने वातावरण बन्न नदिई औद्योगिक वातावरण प्रदुषित हुनबाट जोगाउनुपर्ने आवश्यकता औल्याएको छ ।

समितिका सभापति कृष्ण प्रसाद दाहालले स्पञ्ज आइरन र बिलेट आयातको भन्सार विवाद तुरुन्तै सुल्झाउन अर्थमन्त्रालयको ध्यानकर्षण गराए । साथै उनले समितिमा छलफलका लागि पुगेका उद्योगी व्यवसायीहरु पनि एक आपसमा छलफल गरेर समस्या सुल्झाउन सहयोगी बन्न आग्रह गरे । 'तपाईहरु एकआपसमा बसेर छलफल गर्नुस औद्योगिक वातारण थप प्रदुषित बनाउने काम बन्द गर्नुस्।' उनले भने ।

तयारी बिलेट आयात गरी डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु तथा पञ्ज आइरन आयात गरी बिलेट र डण्डी उत्पादन गरिरहेका उद्योगीहरुसँग मंगलबार अर्थसमितले छुट्टा छुट्टै छलफल गरेको हो।

छलफलमा तयारी बिलेट आयात गरी डण्डी उत्पादन गर्दै आएका उद्योगीहरुले स्पञ्ज आइरनमा भन्सार र अन्तःशुल्क छुट दिने निर्णयले २४ वटा उद्योग धरापमा परेको र ४ वटा बन्दै भएको बताएका थिए । स्पञ्ज आइरन आयात गरी बिलेट र डण्डी उत्पादन गरिरहेका उद्योगीहरुले नयाँ व्यवस्थाले डण्डीको मूल्य प्रतिकेजी ४ रुपैयाँसम्म घट्ने हुँदा उपभोत्ताले राहात पाउने बताए ।

सरकारले प्रतिस्थापन विधेयक मार्फत पत्रु (स्कार्प) पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउने कच्चा पदार्थ (स्पञ्ज आइरन) आयात गर्दा शुन्य प्रतिशत भन्सार र शुन्य प्रतिशत अन्तःशुल्कको व्यवस्था गरेको छ । तर, सोझै विलेट्स आयात गर्दा ४.७५ प्रतिशत भन्सार र प्रति मेट्रिक टनमा एक हजार ६५० रुपैयाँ बाट बृद्धि गरी दुई हजार पाँच सय अन्तःशुल्क कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७८, मंगलबार १६ : १३ बजे