इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डेलाई ३ करोड तलव भत्ता, दशैं भत्ता मात्रै २२ लाख बढी

0
Shares

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेले आर्थिक वर्ष २०७७।७८ मा बैंकबाट एक वर्षमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलव भत्ता बुझेका छन् ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार पाण्डेले दशैं भत्ता वापत मात्रै २२ लाख ३३ हजार रुपैयाँ लिएका हुन् । यस्तै तलव वापत १ करोड ६० लाख ७६ हजार, भत्ता वापत १ करोड ७ लाख १७ हजार र सञ्चयकोष वापत १६ लाख ८ हजार रुपैयाँ लिएको उल्लेख छ ।

निजी क्षेत्रबाट सञ्चालित उक्त बैंकका सीईओ पाण्डेले यसका अतिरिक्त कार्यकारी प्रमुखको हैसियतले पाउने अन्य सुविधाहरु समेति लिएका छन् ।

जसमा कार्यकारी प्रमुखको हकमा सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ भने पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी-बिल बमोजिम उपलब्ध गराइएको छ ।

यसैगरी बैंकले उनलाई बोनस ऐन अनुसारको बोनस, सम्झौतामा उल्लेख भए अनुसार उपदान र जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा–बैंकको कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम र पत्र–पत्रिकाको सुविधा उलब्ध गराएको छ ।

अझ अचम्मत के छ भने सीईओ पाण्डेकाे सुरक्षाका  लागि समेत बैंकले ठूलाे रकम खर्चेकाे छ । वित्तीय विवरणमा कार्यकारी प्रमुखलाई ३ जना सुरक्षा गार्ड दिईएको उल्लेख छ ।

गत आवमा बैंकका ११९ जना अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापनका कर्मचारीका लागि बैंकले २४ करोड ७४ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । जस अन्तर्गत तलव वापत १२ करोड ६७ लाख २५ हजार, भत्ता वापत ९ करोड ४ लाख ७६ हजार, दशैं भत्ता वापत १ करोड ७५ लाख ६४ हजार रुपैयाँ र सञ्चयकोष वापत १ करोड २६ लाख ७२ हजार रुपैयाँ दिएको उल्लेख छ ।

व्यवस्थापकीय/प्रबन्धक स्तरका पदाधिकारीहरुको हकमा कर्मचारी सेवा विनियमावली र मानव संसोधन नीतिमा व्यवस्था गरिए बमोजिम सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन उपलब्ध गराइएको छ ।  यसैगरी बोनस ऐन अनुसारको बोनस र कर्मचारी सेवा विनियमावलीमा व्यवस्था गरिए बमोजिमको उपदान उपलब्ध गराइको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत तथा अन्य कार्यकारी पदाधिकारी तथा व्यवस्थापनका कर्मचारीका लागि यति धेरै सेवा सुविधा दिएपनि बैंकको सेवा सुविधाप्रति भने ग्राहकहरु भने असन्तुष्ट नै देखिएका छन् । आ.व. २०७७/७८ मा बैंकको सेवामा चित्त नबुझेर ग्राहकबाट ४६ वटा गुनासोमा प्राप्त भएको र सबै गुनासो सुनुवाई भइसकेको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।