आर्थिक ऐनले दिएको कर छुटको सुविधा लिन पुससम्म पहिलो किस्ता तिर्नुपर्ने


बैंक तथा वित्तीय संस्थाले आर्थिक ऐन २०७८ ले दिएको कर छुटको सुविधा लिनका लागि पुस मसान्तसम्मको पहिलो कर किस्ता तिर्नु पर्ने भएको छ । करदाताले विचारधिन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिन ठुलाकरदाताको कार्यालयले सो अवधिमा कर तीर्न भनेको हो ।

ठुलाकरदाता कार्यालयले बिहीबार बैंक तथा वित्तीय संस्थासंग छलफल गर्दै आर्थिक ऐनले दिएको छुट तथा सुविधाको विषयमा जानकारी गराएको छ । कार्यालयले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरुको विषयमा तथा पौष मसान्त भित्र प्रथम किस्ता दाखिला गर्नुपर्ने ४० प्रतिशत आयकर वापतको रकम दाखिला गर्न करदताहरुलाई आग्रह गरेको छ ।

सो छलफलमा बैंक तथा बित्तीय संस्थाका अधिकारीले कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ–आफ्नो धारणा राखेका थिए । कर कार्यालयका प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरु मध्ये विचारधिन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद २०७८ पौष भित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न हुन तथा समयमै आयकरको किस्ता दाखिला गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा बित्तीय संस्था, बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत, बित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरु तथा कर अधिकृतहरुको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।