तीव्र उतारचढावबीच नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

0
Shares

सोमबार सय अंकले ओरालो लागेको शेयर बजार मंगलबार तीब्र उतारचढाबका बीच करिब ६ अंकले घटेको छ भने कारोबार रकममा समेत गिरावट आएको छ ।

मंगलबार नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा झरेको छ । कूल २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ रूपैयाँ बराबरको कारोबार भयो । अघिल्लो कारोबार दिन करिब ९ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स समूहबाहेक बाँकी सबै उपसमूहको सूचक ओरालो लागेको छ । यो समूहको परिसूचक यस दिन ०.४४ प्रतिशत बढेको छ। यस दिन १२ समूहको परिसूचक ओरालो लागेको छ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक २६ करोड ९४ लाख ५१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको २७ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि कारोबार उच्च भएको हो ।

मंगलबार पनि विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार एक सय ६ रुपैयाँ पुगेको छ ।

यस दिन बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।

यस दिन १०.३५ प्रतिशत कृषि विकास बैंक डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ८.३४ प्रतिशतले घटेर एक हजार रूपैयाँमा झरेको छ । त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य साढे ४ प्रतिशत घटेको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।