कोरोना असरका बीच उद्योग दर्ता बढ्यो, चालु आवको पुससम्म थप १५४ दर्ता

कोरोना असरका बीच उद्योग दर्ता बढ्यो, चालु आवको पुससम्म थप १५४ दर्ता

उद्योग विभागका तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को पुस मसान्तसम्मका तुलनामा चालु आवको सोही अवधिमा उद्योग दर्ता हुने क्रम बढेको छ ।

विभागका अनुसार चालु आवको पुस मसान्तसम्म उद्योग दर्ताको संख्या बढेर १५४ पुगेको छ । गत आवको सोही अवधिमा १०३ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएकोमा ५१ वटा उद्योग थपिएका हुन् । यो सहित हालसम्म ८ हजार ६०८ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको विभागको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४५ ठूला, ५७ मझौला र ५२ साना उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १७ ठूला, २१ मझौला र ६५ साना उद्योग दर्ता भएका थिए । हालसम्म एक हजार २५९ ठूला, एक हजार ९६६ मझौला र पाँच हजार ३८३ साना उद्योग दर्ता भएका विभागले जनाएको छ ।

लघु उद्यम र घरेलु उद्योगबाहेक १५ करोडसम्म स्थिर पूँजी भएको उद्योगलाई साना, १५ देखि ५० करोडसम्म पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी पूँजी भएका उद्योगलाई ठूला उद्योगका रुपमा लिइन्छ । बढीमा २० लाखसम्म पूँजी भएको उद्योगलाई लघु उद्यम र परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग भनिन्छ ।

पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको हो ।

२४ खर्ब ७० अर्बको लगानी सहित उद्योग दर्ता, ६ लाख ४२ हजारलाई रोजगारी प्रस्ताव

उद्योग विभागको तथ्याङ्क अनुसार हालसम्म २४ खर्ब ७० अर्बको लगानी सहित उद्योग दर्ता भएका छ । हालसम्म दर्ता भएका उद्योगमा ६ लाख ४२ हजार ५४३ रोजगारी प्रस्ताव गरिएको छ ।

उद्योग दर्तासँगै प्रस्तावित लगानीमा पनि वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्म दर्ता भएका उद्योगमा ७२ अर्ब ६२ करोडको लगानी प्रस्ताव भएकोमा चालु आवमा सो लगानी बढेर एक खर्ब ८६ अर्ब पुगेको छ ।

उद्योगले दिने रोजगारी पनि झण्डै दोब्बरले बढेको छ । गत आवको समीक्षा अविधमा उद्योग स्थापनाबाट ६ हजार २८८ रोजगार भएकोमा चालु आवको सोही अवधिमा १३ हजार ७४८ रोजगारी प्रस्तावित भएको विभागले जनाएको छ ।

हालसम्म चार खर्ब विदेशी लगानीमा ५ हजार ३६६ उद्योग दर्ता प्रस्ताव

विभागबाट विदेशी लगानीको स्वीकृति लिनेको संख्या पनि बढेको छ । विभागले हालसम्म पाँच हजार ३६६ विदेशी लगानी स्वीकृत गरेको छ । तीन खर्ब ९५ अर्ब ४२ करोडको विदेशी लगानी प्रस्ताव गरी हालसम्म ५ हजार ३६६ उद्योग दर्ता भएका छन् ।

गत आवको पुस मसान्तसम्म १२३ विदेशी लगानी स्वीकृति भएकामा समीक्षा अवधिमा सो संख्या बढेर १२९ पुगेको छ । विदेशी लगानीका ठूला उद्योग ३१९, मझौला ५६६ र साना उद्योग चार हजार ४८१ दर्ता भएका छन् ।

समीक्षा अवधिमा विदेशी लगानी २३ अर्ब ४७ करोडबाट बढेर ३० अर्ब ५६ करोड पुगेको छ ।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले मुलुकमा औद्योगिक वातावरण बन्दै जानु, नीतिगत तथा प्रशासनिक सुधार, लगानीकर्तालाई सेवा सुविधा र सहजीकरण, लगानीका अवरोधलाई सुधार गर्दै लगेसँगै उद्योग स्थापनाका क्रम बढेको जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहीबार १५ : २५ बजे