अधिक ऋणका कारण बेपत्ता अग्रवाल विरुद्ध हालसम्म पनि परेन ठगी उजुरी

अधिक ऋणका कारण बेपत्ता अग्रवाल विरुद्ध हालसम्म पनि परेन ठगी उजुरी

ग्रीनलाइन सेन्टरका मालिक बेपत्ता भएको करिब एक महिना बितिसक्दा पनि उनी विरुद्ध प्रहरीमा कुनै पनि उजुरी परेको छैन ।

विभिन्न संस्था तथा व्यक्तिसँंग अर्बौं ऋण लिएका ओमप्रकाश अग्रवाल उक्त कर्जा तिर्न नसक्ने भन्दै बेपत्ता हुँदा पनि साहु संस्था तथा व्यक्ति सहयोग माग्दै प्रहरी समक्ष नपुगेका हुन् ।

काठमाडौंको कान्तिपथमा करिब २५ वर्षदेखि विदेशी मदिराको कारोबार गर्दै आएका अग्रवाल गत पुस २२ गतेबाट बेपत्ता छन् । प्रहरीका अनुसार अग्रवाल परिवारका ९ जना सदस्य आजसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले फेला पार्न नसकेका अग्रवाल परिवाका सदस्यहरुमा ओमप्रकाश, अमित, अभिषेक, भारती, उषा, रुचिका अग्रवाल, १७ वर्षीय नातिनी नन्दनी अग्रवाल, ९ वर्षीय पार्था अग्रवाल र २ वर्षीय अनव अग्रवाल छन् ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक र ग्लोबल आईएमई बैंक गरी चारवटा बैंकबाट मात्रै ८० करोड रुपैयाँभन्दा बढीको ऋण छ  । औपचारिक रुपमा कानुनी उपचार मार्फत ऋण असुली गर्न सकिने कर्जा ८० करोड रुपैयाँ मात्र देखिन्छ । यो कर्जाको असुलीका लागि बैंकहरुले आ– आफ्नो तर्फबाट असुली प्रक्रिया अघि बढाइसकेको अवस्था छ ।

तर, अन्य व्यक्ति तथा संस्थाबाट लिएको ऋणको ब्याज तिर्न नसकेको भन्दै अग्रवाल आफैँले उल्लेख गरेपनि त्यस्ता ऋणको सन्दर्भमा भने हालसम्म प्रहरीमा ठगीको कुनै पनि उजुरी परेको छैन । अग्रवाल परिवारको ठगीको सन्दर्भमा कुनै पनि उजुरी प्रहरीकोमा नआउँदा अनुसन्धान प्रक्रिया समेत जटील बनेको छ । अग्रवाल परिवारले बैंक वित्तीय संस्थाको ८० करोड सहित अन्य व्यक्ति तथा संस्थाबाट पनि कर्जा लिएको भएपनि इस्तो ऋण कति छ भन्ने यकिन हुन सकेको छैन । अग्रवाल परिवारले व्यक्ति तथा संस्थाबाट गरी अर्बौ रकममा कर्जा लिएको देखिन्छ ।

प्रहरीले ओमप्रकाशको ज्ञानेश्वर स्थित निवासमा भेटेको पत्रमा कोभिड १९ का कारणले गर्दा आफ्नो कारोबार सुस्ताएको तथा बैंक र मिटर व्याजीबाट लिएको ऋण तिर्न नसकेको स्वीकार गरेका छन् । मिटर ब्याजीबाट लिएको ऋण तिर्दा आफ्नो सम्पत्ति सिद्धिएको पत्रमा उल्लेख छ ।

अग्रवाललाई ऋण दिने बैंकहरुमा मात्र नभई अन्य व्यक्ति तथा संस्थाहरुपनि रहेको उनको पत्रबाट पनि स्पष्ट हुन्छ । अग्रवालले बेपत्ता हुँदा घरमा छाडेको पत्रमा आफुहरुसँग बैंक र मिटर ब्याजीलाई तिर्नको लागि कुनैपनि प्रकारको साधन नभएको उल्लेख गरेका छन् । उनले पत्रमा बैंकले पुस २१ मा ग्रीनलाइनको स्टोरमा ताला लगाइदिएपछि मिटर ब्याजीलाई समेत तिर्ने पैसा नभएको र मिटरब्याजीले दिएको धम्की र बैंकको असहयोगले गर्दा मानसिक अवस्थाका कारण काठमाडौं छाड्न बाध्य भएको उल्लेख छ ।

तर, उनी बेपत्ता भएको एक पहिना बितिसक्दा पनि मिटरब्याजीहरु उनी बेपत्ता भएको थाहा नै नपाएको जस्तो गरी चुपचाप बसेका छन् । अग्रवालबाट अर्बौं रकम असुल गर्नुपर्ने भएपनि मिटरव्याजीले प्रहरी समक्ष गएर आजको मितिसम्म ठगीको उजुरी गरेका छैनन् ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले अग्रवाल विरुद्ध आजसम्म पनि कसैको उजुरी नआएको बताए । “पीडितलाई न्याय र पीडकलाई सजाय दिन प्रहरी लागि रहेको छ,” उनले भने, “तर अहिलेसम्म अग्रवाल विरुद्ध कुनै उजुरी आएको छैन ।” नेपालमा मिटरव्याज कारोबार गैरकानुनी हो । मिटरब्याज लगाउनेलाई ठगी मुद्धाबाट कारबाही भएमा मुलुकी अपराध संहिता, २०७४ अनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७८, बिहीबार १७ : २८ बजे