धितोपत्र बोर्डले क्यापिटल मार्केट इन्ष्टिच्यूट स्थापना गर्ने

0
Shares

नेपाल धितोपत्र बोर्डले क्यापिटल मार्केट इन्ष्टिच्यूट स्थापना गर्ने भएको छ । बोर्डले पूँजी बजारको चक्रमा सम्बद्ध सबै पक्षलाई वित्तीय शिक्षा उपलब्ध गराउन इन्ष्टिच्यूटको स्थापना गर्ने भएको हो ।

धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ता करिब आधा करोड पुगिसकेको अवस्था भएपनि वित्तीय साक्षर लगानीकर्ताको संख्या न्यून मात्र रहेको छ । धितोपत्र बजारमा गरिने लगानी सूचना तथा अध्ययनमा आधारित हुने भएकाले त्यसलाई ध्यानमा राख्दै क्यापिटल बजार सम्बन्धी तालिम दिने संस्था स्थापना गर्न लागेको धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले बताए ।

“धितोपत्र बजारमा लगानीकर्तालाई लाभ हुने र बजारका सहभागि संस्थाहरुलाई नोक्सान नहुने गरी काम गर्ने योजना बनाएको छु,” हमालले भने, “धितोपत्र बजारका सम्बद्ध पक्षहरुलाई तालिम दिनका लागि एउटा इन्ष्टिच्यूट स्थापना गर्ने आन्तरिक तयारी सुरु भएको छ ।” धितोपत्र बजार चक्रमा सहभागि सबै पक्षलाइ सर्टिफिकेट प्रोग्राम बनाएर तालिमको कायृक्रम सुरु गर्ने योजना गरेको समेत हमालले जानकारी दिए ।

पहिलो चरणमा धितोपत्र बजारका लगानीकर्ताको हक हित संरक्षण गर्ने टुलहरुको बनाउने क्रममा रहेको उनको भनाइ छ ।

यसभन्दा अघि बीमा समितिले इन्स्योरेन्स इन्ष्टिच्यूट नेपाल लिमिटेड र नेपाल राष्ट्र बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्यूट लिमिटेड स्थापना गरिसकेका छन् । सो संस्थाले सम्बन्धीत क्षेत्रका कर्मचारी तथा सरोकारवालाहरुलाई विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।