धितोपत्र बोर्डको कार्ययोजनाले पनि उकासेन लगानीकर्ताको मनोबल, नेप्सेमा पहिरो

0
Shares

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको विस्तार र विकासका लागि ६ बुँदे कार्ययोजना सार्वजनिक गरेपछिको पहिलो कारोबार दिनमा शेयर बजारमा ३० अंकको गिरावट आएको छ ।

नवनियुक्त अध्यक्षले बजार सुधारको लागि ठोस कार्यक्रम घोषणा गर्न नसक्दा शेयर लगानीकर्ताको मनोबल झनै खस्किएको हो । गत सोमबार बोर्ड अध्यक्ष हमालले पत्रकार सम्मेलन गरेर ६ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए ।

अध्यक्ष हमालको पहिलो प्राथमिकता धितोपत्र बोर्डको सुधार, यस्ता छन् आधा दर्जन कार्ययोजना

अध्यक्ष हमालले धितोपत्र बोर्डको संरचनात्मक र कार्यक्षमता सुधारका गर्ने, ऐन–नियममा समसामयिक संशोधन गर्ने, वित्तीय साक्षरतामा काम गर्ने, बजारमा बन्ड, फ्युचर अप्सनजस्ता लगानी विविधीकरणका उपकरण ल्याउने, वित्तीय साक्षरता लगायतका काम गर्ने र लगानीकर्ताको गुनासो व्यवस्थापन गर्न गुनासो सम्बन्धोन गर्न मोबाइल एपको विकास गर्ने लगायतका कार्यक्रम घोषणा गरेका थिए । अध्यक्ष हमालले बजार सुधारका तत्कालिन कार्यक्रम ल्याउन नसक्दा शेयर लगानीकर्ताले मनोबल कमजोर हुँदा सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

बैंकिङ्ग क्षेत्रमा देखा परेको तरलता अभाव, रुस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा परेको प्रभाव, कच्चातेलको मूल्यवृद्धि, सुन तथा डलरको भाउ बढ्ने क्रममा रहदा शेयर बजार भने निरन्तर ओरालो यात्रामा रहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्थतन्त्र खस्किदै जादा त्यसको प्रभाव शेयरबजारमा पनि परेको हो।

बुधबार शेयर बजार ३० दशमलव २९ अंकले घटेर २५१४ दशमलव ६५ को विन्दुमा झरेको छ। यसदिन २ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

बुधबारको बजारमा माउन्टेन इनर्जी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ । नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो । यस दिनको कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक रहेका छन ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।