सात महिनामा ८६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत

0
Shares

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा ८६ अर्ब बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यसअवधिमा साधारण शेयर, बोनस, हकप्रद, म्युचुअल फण्ड गरी कुल ८५ अर्ब ९१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

आर्थिक वर्ष २०७८/७९ को सात महिनासम्ममा ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, १५ अर्ब ८६ करोड बराबरको साधारण शेयर, १० अर्ब ९६ करोड बराबरको बोनस शेयर, ९ अर्ब १८ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८५ अर्ब ९१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, २ अर्ब ८४ करोड बराबरको साधारण शेयर र २ अर्ब ३ करोड बराबरको हकप्रद शेयर गरी कुल ११ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ माघसम्ममा सूचीकृत ६ अर्ब ५६ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ४६ अर्ब ८४ करोड रहेको छ ।

२०७८ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२६ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७७ माघमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.५ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.७ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।