गुणस्तरीय जीवनका लागि शहरी विकास नीति परिमार्जनः मन्त्री झाँक्री

गुणस्तरीय जीवनका लागि शहरी विकास नीति परिमार्जनः मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छिन् ।

शहरी नीति परिमार्जन र शहरी विकास ऐन गुणस्तरीय जीवनसँग विषय रहेको भन्दै यसका उपयुक्त नीति आवश्यक रहेको बताएकी हुन् ।
शहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित एक दिने कार्यशालामा बोल्दै मन्त्री झाँक्रीले शहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको समेत बताइन् ।

उनले भनिन्, ‘शहरी विकास नीतिमा सबैको अपनत्व होस् भनेर सबैसँग मन्त्रालयले छलफल गरिरहेको छ । नीति परिमार्जन र ऐन बनाउने काम विज्ञहरूलाई जिम्मा दिँदा पनि हुन्थ्यो । तर यसमा सबैको स्वामित्व हुनुपर्छ भनेर नै यसरी छलफल गर्नुपर्ने आवश्यकता परेको हो । यो गुणस्तरीय जीवनसँग जोडिएको विषय हो । यसमा सबैको स्वामित्व भएर नीति निर्माण भयो भने शहरीकरणमा दीर्घकालीन समस्या समाधान हुन्छ ।’

शहरी विकास नीतिले शहरी प्रणाली समुन्नत बनोस् भनेर नीति परिमार्जन र शहरी विकास ऐन ल्याउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले बताए । उनले विभिन्न प्रदेशमा आयोजित कार्यशालामा प्राप्त सुझावहरू शहरी नीति परिमार्जन र ऐन निर्माणमा समेटिने पनि बताए ।

गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य रघुराज काफ्लेले नेपालमा शहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए । उनले सरकारले परिमार्जन गर्ने शहरी नीति र ल्याउने ऐन आगामी दिनमा व्यवस्थित शहरीकरणका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

उनले भने, ‘नेपालमा शहरीकरणको प्रक्रिया तीव्र रूपमा बढिरहेको छ । आगामी भविष्यमा बन्ने शहरीकरणका लागि शहरी विकास नीति परिमार्जन र शहरी विकास ऐनले व्यवस्थित रूपमा कार्यान्वयन हुन्छ ।’ उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनमा टेकेर नमूना शहर निर्माण गर्न सकिने पनि उनले बताए ।

कार्यक्रममा शहरी विज्ञ जिपी गोरखालीले विषयवस्तुमाथि प्रकाश पारेका थिए । उनले शहरी विकास र यसका विविध आयाममाथि स्पष्ट पारे । यस्तै शहरी विकास नीति र शहरी विकास ऐनबारे मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले प्रस्तुतीकरण गरेका थिए । उनले युटीलिटी कोरिडोरबारे समेत जानकारी प्रस्तुत गरे ।

कार्यशालामा सहभागी गण्डकी प्रदेशभित्रका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले संघीयतासँगै तीनै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै यस्ता विषय शहरी नीतिमा ध्यान दिनुपर्ने बताए । उनीहरुले आफूहरूले माग गर्दै आएको शहरी विकास ऐन ल्याउन लागेको प्रति मन्त्रालयलाई धन्यवाद व्यक्त समेत गरेका थिए ।

उनीहरुको जलवायू परिवर्तनको समस्या पनि नीतिगत रूपमै समाधान गर्ने गरी नीति परिमार्जन र ऐन बनाउन मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव थियो । कार्यशालामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका विभिन्न जिल्लाका नगरप्रमुखहरू उपप्रमुखहरू लगायतको उपस्थिति थियो ।

मन्त्रालयले देशभरका विभिन्न स्थानमा विकास निर्माणका काम गर्दा राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्बन्धी कार्यशाला गर्दै आएको छ । मन्त्रालयले हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा कार्यशाला सम्पन्न गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ चैत २०७८, शुक्रबार ०९ : १२ बजे