नबिल बैंकको ब्याज आम्दानी बढेपनि निष्क्रिय कर्जा थपिँदा नाफामा गिरावट

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा झण्डै ९ प्रतिशतले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

साढे ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा १२ रुपैयाँ ४७ पैसाको गिरावट आएको छ ।

बैंकको निक्षेप तथा कर्जामा सुधारका साथै खुद ब्याज आम्दानी बढ्दा पनि निष्क्रिय कर्जा बढेपछि खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्रमसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको बैंकको निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ। जस वापत इम्पेरमेन्ट चार्ज ६१ करोड नाघेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेकाले सञ्चालन मुनाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो। बैंकको संचालन मुनाफा समेत ८.७५ प्रतिशतले घटेको छ ।

बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानीमा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसाले घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। बैंकले गत आर्थिक वर्षमा ३३.६० प्रतिशतले चुक्तापूँजी बढाएको थियो । पूँजी बढ्ने नाफा घट्ने हुँदा प्रतिशेयर आम्दानीमा झनै गिरावट आएको हो ।

बैंकको व्यवासायको आकार भने बढेको छ । बैंकको निक्षेप करिब ५ प्रतिशत तथा कर्जा प्रवाह १२ प्रतिशत भन्दा धेरैले बढेको छ । बैंकले चैत्र मसान्तसम्मा २ खर्ब ३४ अर्ब २२ करोड निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेको छ। बैंकले यसअवधिमा ६ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ ।

१८ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा कोषमा १६ अर्ब ६९ करोड छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रक्रियामा रहेकोे छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति समेत पाइसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।