
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्रलाई अहिलेको डिजिटल प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय र समय सान्दर्भिक विषयवस्तुका साथ रुपान्तरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
गोरखापत्र प्रकाशनको १२२ औं वर्ष प्रवेश तथा संस्थानको ६० औं वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री कार्कीले गोरखापत्रले आफ्नो सोचशैली र गतिलाई समयानुकूल परिवर्तन गरेर गोरखापत्रको इतिहास र गरिमा कायम गर्ने तथा समाज रुपान्तरणमा यसको भूमिका छ भन्ने पाठक वर्गमा विश्वास दिलाउन आग्रह गरे ।
सञ्चारमन्त्री कार्कीले गोरखापत्र सरकारको पत्रिका नभई नेपाली जनताको पत्रिकाको रुपमा कसरी विकसित गर्न सकिन्छ, त्यसतर्फ पनि सबैको ध्यान जान जरुरी छ भने । उनले भने, “गोरखापत्रलाई स्मार्ट यात्रामा लैजाने भनिएको छ । स्मार्ट यात्रा प्रकाशकीयमा लेखेर, भाषण गरेर र दस्तावेज बनाएर मात्रै पूरा हुँदैन । त्यसलाई व्यावहारिक रुपमा उतार्न सरकार साथमा छ, कर्मचारीहरु जिम्मेवारपूर्वक लाग्नुस् ।”
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीले पत्रकारिता जगतको समस्या र अवसरबारे वर्तमान सरकार सजग र जानकार रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको निष्ठापूर्वक र दृढताका साथ रक्षा गर्न यसको पक्षमा उभिने विश्वास व्यक्त गरे ।
उनले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई दक्षिण एशियाकै उत्कृष्ट रुपमा विकसित र मर्यादित गर्न सबै पत्रकारहरुलाई आग्रह गरे । देशकै पहिलो अखबर गोरखापत्र पत्रिकामा मात्र नभएर एउटा गौरवशाली संस्था पनि रहेको भन्दै मन्त्री कार्कीले अब गोरखापत्रलाई कसरी अघि बढाउने भन्ने विषयको बहस प्रारम्भ भएको उल्लेख गरे ।
“एशियामा विरलै पाइन्छ । यति लामो समयसम्म अभिछिन्न रुपले निरन्तर प्रकाशित हुने गोरखापत्र । गोरखापत्र गौरवको संस्थामात्र नभई यो प्रतिष्ठानको पाठशालाको रुपमा समाजले बुझेको छ । समृद्ध साहित्य र भाषिक विविधताको धरोहरका रुपमा समाजले स्वीकारेको र इतिहासका धेरै कालखण्डमा गोरखापत्र हिमालजस्तै अटल उभिएको छ”, उनले भने ।
सञ्चारमन्त्री कार्कीले नियन्त्रित समाज र खुला समाज दुवैको साक्षी बनेको गोरखापत्रले आफ्नो लामो कालखण्डमा धेरै आरोह अवरोह पार गरेको चर्चा गर्दै गोरखापत्र नेपालको राजीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको एक साक्षी हो भने ।
प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिँदैनः प्रवक्ता कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ काठमाण्डौंमा आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उनले भने, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान सरकारले रक्षा र प्रोत्साही गर्दै लैजाने छ ।”
पत्रकारिता क्षेत्रले मुलुकको परिवर्तन र जनताको चाहनाअनुसार मुलुकलाई सुशासन र कानुनी शासनका माध्यमद्वारा समृद्धिको दिशामा अग्रसर गर्नका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री कार्कीको भनाइ छ ।
उनले भने, “स्वतन्त्र प्रेस र सरकार साथसाथै हिँड्न सकेन भने जनताको लोकतन्त्रप्रतिको चाहना र समृद्धिको चाहना पूरा हुन सक्दैन, त्यसैले निर्भिकताका साथ आफ्नो स्वतन्त्रतालाई मध्ये नजर गर्दै समाजलाई सुसूचित गर्नहोस्, सरकारलाई पहरेदारी गर्नुहोस्, सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईहरुले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सिर्जना गर्नुहोस्, धत्यसको वर्तमान सरकारले स्वागत गर्छ ।”
सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै नभई सम्वद्र्धनसमेत गर्ने उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा पुरस्कृत व्यक्तित्व तारानाथ दाहालले संविधानको मर्मअनुरुप सम्बन्धित क्षेत्रको सुझावका आधारमा सञ्चारसम्बन्धी एकीकृत छाता ऐन जतिसक्दो चाँडो ल्याउन सरकारसँग आग्रह गरे । महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि नियमनसँगै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले ‘लोकतन्त्रको आधारशीला, व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने मूलनारासहित आज विभिन्न कार्यक्रम गरी सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको जानकारी दिए ।
दिवसको अवसरमा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान
सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७९’ का अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललाई ‘वरिष्ठ पत्रकार सम्मान–२०७८’ बाट सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ ।
विसं २०७६ र २०७७ को सोही पुरस्कार क्रमशः पत्रकार स्व सुकदेव नेपाल ९मरणोपरान्त०, हर्ष सुब्बा, रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रु दुई लाख राशिसहितको सो पुरस्कार आज प्रदान गर्नुभयो ।
त्यसैगरी ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार डिआर पन्त, इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गङ्गा बराल र सम्झना वनलाई प्रदान गरिएको छ ।
विसं २०७६ र २०७७ को सोही पुरस्कार पत्रकार इन्द्रमान बुढा, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक, शीतल शाह, दिलीपकुमार थापामगर, दिपेश न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
