काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् ।
फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै समस्या होइन, यो हामी सबैको साझा चुनौती हो। यो अन्तरपुस्तागत न्यायसँग पनि जोडिएको विषय हो । हामीले आगामी पुस्तालाई कस्तो काठमाडौं र कस्तो देश हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो कामले निर्धारण गर्छ । त्यसैले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको साझा जिम्मेवारी छ ।’
उनले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूमा बढ्दो प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनले जनस्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरे । विशेषगरी बाक्लो जनघनत्व भएको क्षेत्रमा फोहोर व्यवस्थापनमा लापरबाही हुँदा संक्रमणको जोखिम उपत्यकाभर फैलिन सक्ने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले फोहोरबाट निस्कने मिथेन ग्यासलाई ऊर्जामा रूपान्तरण गर्न सकिने भएकाले यस्ता परियोजनालाई वातावरण संरक्षण र नवीकरणीय ऊर्जा उत्पादनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए।
