नबिलमा एनबी बैंक गाभ्ने प्रक्रियामा अदालतको अवरोध हट्यो

0
Shares

नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभ्ने प्रक्रियामा अदालतको प्रवेशले सृजना गरेको दुविधा क्लियर भएको छ । अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतलमा बिहीबार छलफलका लागि पेसी तोकिएको भएपनि रिट निवेदकले फिर्ता गरेपछि गाभ्ने प्रक्रिया निरन्तर अघि बढ्ने भएको हो ।

गाभिने प्रक्रियालाई तत्काल रोक्नु भनेर अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जेठ ३ गतेका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । जेठ ३ गते म्याद तामेलीका कारण छलफल हुन सकेन । त्यसपछि ४ गते बुधबारका लागि सरेको छलफल त्यो दिन पनि हेर्न नमिल्नेमा रह्यो । बिहीबारका लागि न्यायाधीश द्धय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमा संयुक्त इजलासमा छलफल बोलाइएको थियो । तर, बिहीबार रिट निवेदन लक्ष्मी बहादुर श्रेष्ठले रिट निवेदन नै फिर्ता लिएपछि गाभ्ने प्रक्रिया अघि बढ्ने भएको हो ।

सर्वोच्चले यसभन्दा अघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने निर्णयका लागि रिटका पक्ष विपक्षलाई छलफलका लागि बोलाएको थियो । सर्वोच्चले बैंशाख २५ गते गाभ्ने/गाभिने प्रक्रिया तत्कालका लागि रोक्नु भन्दै रिट निवेदकका पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाल बंगलादेश बैंकमा रहेको बंगलादेशी बैंक आइएफआईसीको सेयर व्यवसायी विनोद चौधरीले खरिद गर्ने प्रारम्भिक सम्झौता भएदेखि मुद्दा मामिला सुरु भएको हो । एनबी बैंकका संस्थापक सेयरधनी रहेका लक्ष्मी बहादुर श्रेष्ठले आइएफआईसी बैंकको सेयर विनोद चौधरीले खरीद गरेपछि अन्य ब्यवसायीहरुसँंग मिलेर उनले मर्जर प्रक्रिया अघि नबढाउन भन्दै रिट दायर गरेका थिए ।

बंगलादेश बैंकमा आइएफआईसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा चौधरी समहुलाई बिक्री गर्ने सहमति गरेपछि गत पुस २९ गते प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गर्ने सम्बन्धी सम्झौता भएको थियो । सो सम्झौता हुँदै गर्दा पनि सनराइज बैंकका अध्यक्ष समेत रहेका मोतिलाल दुगड लगायतका व्यवसायीले आइएफआईसीको सेयर आफुहरुले खरिद गर्ने सहमति चौधरी समुहले भन्दा अघि गरेको भएपनि नपाएको भन्दै काठमाण्डौं जिल्ला अदालत गएका थिए । यसमा पनि काठमाण्डौं जिल्ला अदालतले दुगडसँग गरेको सहमति तोडेर चौधरी समुहलाई बिक्री गर्नेको कारण सोध्दै अन्तरिम आदेश जारी गरेको थियो ।

बैशाख १९ गते पुनः सर्वोच्च पुगेको सोही समुह अन्तर्गतको दिब्यश्वरी इन्भेष्टमेण्टले नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्र बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडका सञ्ंचालक समिति, नेपाल बंगलादेश बैंक लिमिटेड/नेपाल बंगलादेश बैंक लिमिटेडका सञ्चालक समितिलाई विपक्षी बनाए रिट दायर ग¥यो ।

त्यसपछि बैशाख २२ गते नेपाल पावर डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले समेत नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेडका सञ्चालक समिति, नबिल बैंक लिमिटेड/नबिल बैंक लिमिटेडका सञ्चालक समितिलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा बैशाख २५ गतेको सुनुवाईमा न्यायधीश बम कुमार श्रेष्ठको एकल इजलासले कारण देखाउ, अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

निवेदक रिट फिर्ता लिएसँंगै दुबै संस्थाको गाभ्ने।गाभिने प्रक्रिया अघि बढ्ने भएको छ । दुबै संस्था नबिल बैंक र एनबी बैंकले जेठ ७ गते एक्वीजिशनका लागि विशेष साधारण सभा बोलाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।