कामपाका मेयर बालेनको एजेण्डामा समर्थन: होण्डाका शोरूमहरूमा निःशुल्क शौचालय

0
Shares

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहले पहिलो कार्यपालिका बैठकमा ६ वटा प्रस्ताव पढेर सुनाएका थिए । ती प्रस्तावमा चौथो बुँदा थियो सार्वजनिक शौचालयको व्यवस्थाबारे ।

यसका लागि उनले चेन होटल तथा रेष्टुरेन्टको रुपमा उपत्यकामा सञ्चालित चिकेन स्टेसन, बर्गर स्टेसन लगायत केही होटल तथा रेस्टुरेन्टसँग छलफल गरिसकेको र उनीहरुबाट सकारात्मक प्रतिक्रिया समेत पाएको बालेनले बैठकमै बताए । सार्वजनिक शौचालय स्थापना गर्न रेस्टुरेन्ट र पेट्रोल पम्पसँग सहकार्य गर्ने पनि उनले बताएका थिए ।

उनले भनेका थिए ‘यसले रेस्टुरेन्टको व्यवसाय बढ्न सक्छ। शौचालय प्रयोग गर्न जानेले एक कप चिया खान सक्छन् तर खानैपर्छ भन्ने छैन,’ मेयरको शपथ लिएकै दिनको बैठकमा उनले भने, ‘यो उनीहरूको तर्फबाट सर्वसाधारणलाई दिइने सेवा हो।’

बालेनको यसै एजेण्डालाई समर्थन गर्दै व्यवसायीक घराना ज्योति ग्रुपले पनि आफ्नो शोरूमहरूमा अबदेखि निःशुल्क शौचालय उपलब्ध गराउने घोषणा गरेको छ । व्यवसायी शौरभ ज्योतिले ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा स्याकर ट्रेडिङ्ग कम्पनी प्रालिका अध्यक्ष समेत रहेका युवा व्यवसायी शौरभ ज्योतिले टुवीटमा लेखेका छन्, “ परिवर्तन सुरु हुन्छ हामीबाट ! त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा शोरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।”

शौरभको यो घोषणासँगै अब सर्वसाधारणले देशभरका होण्डा शोरुमको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न सक्नेछन् अर्थात होण्डा शोरूमहरूमा अबदेखि निःशुल्क शौचालय उपलब्ध हुने भएको छ । दुई पांग्रे सवारी साधन होण्डा बिक्री गर्दै आएको कम्पनीका देशभर एक सय वटा शोरुम सञ्चालनमा रहेका छन् । वाग्मती प्रदेशमा उपत्यकमा २० सहित २३ वटा, बाहिर ६ दर्जन बढी शोरुम सञ्चालनमा रहेका छन् ।

मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापना गरेको ज्योति ग्रुप अहिले तेस्रो पुस्तामा आइपुगेको छ । ग्रप अन्तर्गतको व्यवसायमध्ये पद्मका छोरा सौरभ ज्योतिले अहिले ग्रुप अन्तर्गत होण्डा मोटरसाइकलको कारोबार हेर्छन् । हिरो मोटरसाइकलको कारोबार डा. रुप ज्योतिका छोरा अभिक ज्योतिले नेपाल जनरल मार्केटिङ्ग मार्फत हेर्दै आएका छन् । यसबाहेक अन्य कम्पनीमा परिवारका सबै सदस्यको नाममा सेयर छ ।

मेयर शाहको नेतृत्वमा काठमाडौं महानगरको पहिलो नगर कार्यपालिकाको बैठकले नगरभित्रका होटल तथा रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेसंगै होटल तथा रेष्टुरेन्टले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन्।जसअनुसार काठमाडौं महानगर भित्रका रेस्टुरेन्टहरुले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेका छन् ।

बालेको निर्णय यसभन्दा अघि पनि ठमेलको आरडिएक्स ट्याटु एन्ड बारले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेको घोषणा गर्दै सामाजिक सञ्जालमा तस्बिर राखेको सुरूवात गरिसकेको छ ।

महानगरका मेयर बालेन साहले महानगरपालिका भित्र छुट्टै सार्वजनिक शौचालय निर्माण गर्नुभन्दा नगरभित्र रहेका होटलहरुको प्रयोग गर्ने बताएका थिए। उक्त शौचालय प्रयोग गरेबापत सर्वसाधारणले पैसा तिर्नु पर्दैन । महानगरले सार्वजनिक शौचालय सञ्चालन हुने होटल, रेस्टुरेन्ट तथा पेट्रोल पम्पमा साइनबोर्ड राख्नुका साथै टाढैबाट देखिने रातो बत्ती जडान गरिनेछ । त्यस्ता शौचालयलाई महानगरले प्रमाणित गरेर गुगल म्यापमा सूचना दिनेछ। नि:शुल्क सेवा दिएबापत होटल-रेस्टुरेन्टलाई के सुविधा दिने भन्ने निर्णय भने महानगरले गरिसकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।