जोखिम भारित बढेपछि हायर पर्चेज, मार्जिन र ओभरड्राफ्ट कर्जा घट्यो

0
Shares

नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम भारित बढाएपछि उच्च जोखिम भनिएका कर्जाहरुको आकार घट्न थालेको छ । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न बढाएको कर्जाको जोखिम भारितले नयाँ कर्जा रोक्नुका साथै पुरानो कर्जा पनि घट्दै गएको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत आगामी असार देखि लागु हुने गरी कर्जाको प्रकृति अनुसार ५० देखि ७५ प्रतिशत विन्दुले जोखिम भार बढाएको छ ।

सो अनुसार अनुत्पादक क्षेत्रका कर्जाको जोखिम भार १२० प्रतिशत देखि १५० सम्म कायम गरिएको छ । यसरी जोखिम भार बढ्ने कर्जाका सेयर धितो कर्जा, ओभरड्राफ्ट, रियल स्टेट तथा हाउजिङ तथा ट्रष्ट रिसिप्ट कर्जामा जोखिम भार बढाएको हो ।

त्यतीमात्र नभई यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत ओभरड्रफ्ट कर्जालाई टर्म लोनमा परिणत गर्न थालेका छन । पछिल्लो समयमा अधिकासं बैंक तथा वित्तीय संस्थाले ओभरड्राफ्ट सुविधा लिदै आएका ग्राहकलाई बोलाएर टर्म लोनमा परिवर्तन गर्न दबाब दिदै आएका छन् । कतिपय बैंकले टर्म लोनमा परिवर्तन गरेर ग्राहकलाई जानकारी मात्र दिने गरेको पनि देखिन्छ ।

पछिल्लो समयमा बैंकहरुले ओभर ड्राफ्टलाई कडा गरेको एक बैंकरले बताए । पछिल्ला दिनहरुमा बैंक÷वित्तीय संस्थाले ओभर ड्राफ्टलाई टर्म लोनमा रुपान्तरण गराइरहेको उनले जानकारी दिए । नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम भारित बढाएपछि ओभरड्राफ्टलाई टर्म लोनमा परिवर्तन गर्न थालेको उनको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा ओभरड्राफ्ट कर्जा घटेर ७ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँमा झरेको छ । यो कर्जा रकम चैत महिनाको तुलनामा ३.४९ प्रतिशतले घटेको हो । चैत महिनामा यस्तो कर्जा ७ खर्ब ७५ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो एक महिना अर्थात चैत देखि बैंशाख अन्तिसम्ममा ओभरड्राफ्ट घटेर टर्म लोन बढेको छ । बैंक वित्तीय संस्थाले ओभरड्राफ्टलाई टर्म लोनमा रुपान्तरण गर्न थालेपछि बढेको हो । चालु आवको चैतसम्ममा १० खर्ब ९६ अर्ब रहेको टर्म लोन बैशाख महिनामाको अन्तिमसम्ममा आइपुग्दा बढेर ११ खर्ब ३ अर्ब पुगेको छ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले बैदेशिक विनिमय सञ्चितिमा परेको दबाब कम गर्नका लागि आयात नियन्त्रण गरेको अवस्था छ । त्यसले गर्दा चैत महिनाको तुलनामा बैंशाखमा ट्रष्ट, रिसिप्ट/इम्र्पोट कर्जामा भने गिरावट आएको छ । चैत महिना सकिदा १०३ अर्ब रहेको यस्तो कर्जा बैशाख महिना सकिँदा ९७ अर्बमा झरेको छ।

तर चालु आवको बैंशाख महिनामा डिमाण्ड एण्ड अदर वर्किङ क्यापिटल लोन भने बढेको छ । चैतसम्ममा यस्तो कर्जा १० खर्ब ३२ अर्ब रहेकोमा बैंशाख महिनामा बढेर १० खर्ब ३८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको बैंशाख महिनामा व्यक्तिगत आवसिय कर्जामा समेत कमी आएको छ । चैत महिनामा ३ खर्ब ४० अर्ब रहेको व्यक्तिगत आवासिय घर कर्जा बैंशाखमा घटेर ३ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ ।

तर, चालु आवको बैंशाख महिनामा रियल स्टेट कर्जा भने २१ अर्ब भन्दा धेरैले बढेको छ । गत चैतमसान्तसम्ममा १ खर्ब ९९ अर्ब २२ करोड रहेको रियल स्टेट कर्जा बैंशाखमा बढेर २ खर्ब २० अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा गरेको कडाइको असर पनि मार्जिन नेचरको कर्जामा देखिएको छ । बैंशाख महिनामा मात्र यस्तो शिर्षकको कर्जा करिब ३ अर्ब रुपैयाँले घटेको छ । चैत महिनामा ९४ अर्ब ५९ करोड रहेको सेयर धितोकर्जा बैंशाख महिनामा ९१ अर्ब ४१ करोडमा झरेको छ । विलासी बस्तुहरुको आयात रोकिएसंगै बैंकहरुबाट प्रबाह हुने हायर पर्चेज कर्जा पनि घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अधिक कर्जा प्रबाह पछिको उच्च आयात नियन्त्रणका लागि सरकार तथा नेपाल राष्ट्र बैंकले लिएका नीतिले कर्जामा केही निण्न्त्रण गरेको देखिन्छ । त्यती हुँदा पनि बैंकिङ प्रणालीमा नयाँ निक्षेप नआउँदा तरलता अभावको अवस्था भने सहज हुन सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।