एनसीसी बैंकको खुद नाफा २ अर्ब नाघ्यो, १३ प्रतिशत लाभांश क्षमता

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) ले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म २ अर्ब माथि खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको यसै अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले ५१.९८ प्रतिशतले नाफा वृद्धि गर्दै २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४७ करोड ४२ लाख ८७ हजार रुपैयाँ रहेको छ । चुक्ता पुँजी ११अर्ब १३ करोड ९६ लाख ७८ हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी लाभांश वितरणमा भने बैंकले सञ्चित जगेडा कोषको उपयोग गरेर थप वा कम पनि बाँड्नसक्छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत, जगेडा कोष २२.९६ प्रतिशत, निक्षेप २६.१६ प्रतिशत, कर्जा लगानी २८.१३ प्रतिशत, बढेको छ । यस्तै खुद ब्याज आम्दानी ३१.९३ प्रतिशत, खुद फि तथा कमिसन आम्दानी ५३.४५ प्रतिशत, सञ्चालन नाफा ३९.१७ प्रतिशत बढेको छ ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब ३४ अर्ब ५७ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब १९ करोड ४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब १५ करोड ५६ लाख ५१ ह्जार रुपैयाँ खुद बयाज आम्दानी तथा २ अर्ब ६७ करोड २१ लख २९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

बैंकको नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ५.२५ रुपैयाँ बढेर १८.१५ रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.७९ रुपैयाँ, खराब कर्जा अनुपात १.९३ प्रतिशत, निक्षेप संकलन लागत ७.४० प्रतिशत, आधारदर ९.२०, स्प्रेडदर ४.०२ प्रतिशत, कर्जा निक्षेप अनुपात ८६.५८ प्रतिशत, पुँजी कोष अनुपात १२.१२ प्रतिशत, मूल्य आम्दानी अनुपात ११.६२ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।