एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्ने, ब्याजदर १०.५ प्रतिशत

0
Shares

एभरेष्ट बैंक (EBL) ले साउन १८ गतेबाट २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले ६ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइने बैंकले जनाएको छ । बैंकले ब्याज भने प्रत्येक तीन महिनामा भुक्तानी गर्ने बताएको छ।

बैंकले २० लाख युनिटमध्ये १२ लाख इकाई ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्ने जनाएको छ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रमा छिटोमा साउन २२ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटलले गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।