नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको शनिबार राति ९ः३० बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो । उनका सहयोगी मन्दिप भारतीले उक्त जानकारी दिए ।
उनको उपचारमा संलग्न चिकित्सक तथा मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले पनि साँझ साढे ९ बजे उपचारका क्रममा नेता गिरीको निधन भएको जानकारी दिए ।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो । समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए ।
नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका हुन् । हाल प्रतिनिधि सभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए ।
उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए ।
यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका हुन् ।
नेता गिरीप्रति श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर आज (भदौ ५ गते) बिहान ९ः०० बजे देखि ११ः०० बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने भएको छ । यसैगरी श्रद्धाञ्जलीको लागि बिहान ११ः३० बजेदेखि २ः०० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय, वी.पी. स्मृति भवन, सानेपामा उनको पार्थिव शरीर राखिने र तत्पश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।
गिरीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, काङ्ग्रेस संसदीय दल,प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले गिरीको निधनले आफूहरुलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनीहरुले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गरेका छन् ।
गिरीको निधनबाट एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको, गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति भएको, एक सच्चा र असल नेता गुमाएको, नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक गुमाए, समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने भावमा अभिव्यक्ति प्रकट गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
