पिपुल्स पावरको आईपीओ बाँडफाँड आइतबार, साढे १३ लाख बढीले सेयर नपाउने

पिपुल्स पावरको आईपीओ बाँडफाँड आइतबार, साढे १३ लाख बढीले सेयर नपाउने

पिपुल्स पावर लिमिटेडको प्रारभिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ १२ गते आइतबार दिउँसो २ बजेपछि बाँडफाँड गरिने भएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ बाँडफाँड क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजेपछि गर्ने समय निर्धारण गरिएको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्म परेको तथ्याङ्कलाई आधार मान्दा कम्पनीको आईपीओमा सेयर भरेका ८५ प्रतिशत बढी अर्थात १३ लाख ७६ हजार ६४२ जनाको हात खाली हुनेछ । आईपीओ हात पार्ने संख्या कुल २ लाख २९ हजार ४६८ रहेको छ । सोमध्ये २ जनाले ११ कित्ता र बाँकी २ लाख २९ हजार ४६६ जनाले गोलाप्रथाबाट १० कित्ता सेयर पाउनेछन् ।

सर्वसाधारणभन्दा माग भएको सेयर संख्याको तुलनामा ७.९४ गुणा बढी आवेदन परेका कारण आईपीऋो बाँडफाँड धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले हुनेछ ।

आईपीओमा कुल १६ लाख ६ हजार ११० वटा आवेदन मार्फत कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको १ करोड ८२ लाख १९ हजार ७० कित्ता सेयर माग भएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत बढी सम्पन्न भइसकेको छ । पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ ।

प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ। ९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो । जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहेकाे छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० भदौ २०७९, शुक्रबार १२ : ०४ बजे