सिबिफिन र एक्यानवीच आर्थिक क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने सम्झौता

0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) वीच आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने सम्झौता भएको छ ।

शुक्रबार भएको सम्झौतामा सिबिफिनको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र एक्यानकोतर्फबाट अध्यक्ष दिपक पाण्डेले हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी नीति नियमको प्रभाव मूल्याङ्ककन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि सम्बन्धित निकायसँग पहल गर्ने उल्लेख छ

सम्झौता अनुसार देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरु र समाधानका उपायहरु तथा बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरुका विषयमा आपसी सहकार्य गरी सरोकारवाला पक्षहरुवीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गरिनेछ । सुझावहरु सहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गर्ने समेत सम्झौतामा उल्लेख छ ।

त्यसैगरी दुबै संस्थाले संयुक्त रुपमा स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधार, औधोगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरु, वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनिकरणका उपायहरु लगायतका विषयमा अध्ययन अनुसन्धान गर्नेछ ।

सम्झौता अनुसार अध्ययन अनुसन्धान गर्ने विषयमा वित्तीय एवं मौद्रिक नीति/नियम/निर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरु, चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ ले सृजना गर्न सक्ने समस्या, असर र समाधानका उपायहरु समेत रहेका छन् ।

त्यसैगरी बैंकिङ, डिजिटल बैंकिङ, वित्तीय एवं मौद्रिक नीति, वैदेशिक व्यापार, एफडीआई सम्बन्धी विषयहरू,पूँजी बजार विकास, नीतिगत प्रभाव मूल्याङ्कनका विषयमा बहस तथा पैरवी गर्नेलगायत अन्य राष्ट्रिय महत्वका आर्थिक एवं वित्तीय कार्यक्रम संचालन गर्ने समेत सम्झौतामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।