‘किताब जात्रा’को पाँचौं संस्करण भदौ २४ र २५ गते काठमाडौंमा हुँदै

0
Shares

किताब यात्रा फाउन्डेसनले आगामी भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा ‘किताब जात्रा’को पाचौं संस्करण आयोजना गरेको छ।

कोरोना कहरका कारण यसअघिका दुई संस्करण टेलिभिजनमार्फत भएकोे किताब जात्रा यसवर्ष भौतिकरूपमा दुई दिन हुन लागेको हो। जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन्। 

फेस्टिभल कोअर्डिनेटर सुवास अर्यालका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्। । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहनेछन ।

‘किताब जात्राको पाचौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिकरूपमै फेस्टिभल गर्दैछौं। यो उत्साहका साथ मिस्टिक नेपाल अवधारणामा हामीले यसपालि किताब जात्राको प्रस्तुतिमै पनि विशेष तरिकाले विविधता दिँदैछौं।’

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहने आयोजकले जानकारी दिएको छ ।

भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुति रहने आयोजकको भनाई छ ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ। सर्लाही जिल्लाका शिक्षासेवी स्व। प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ।

गत वर्ष शताब्दी पुरुष सत्यमोहन जोशीलाई उक्त सम्मान प्रदान गरिएको थियो। त्यसअघि सम्मानबाट साहित्यकार सरुभक्त र जसराज किराँती सम्मानित भइसकेका छन्।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ। गत वर्ष आख्यानकार जीवा लामिछाने लिखित ‘देश देशावर’ले प्राप्त अवार्ड प्रदान गरिएको थियो। त्यसअघि अमर न्यौपानेलिखित उपन्यास ‘गुलाबी उमेर’ र विजयकुमार लिखित ‘सम्बन्धहरू’ले अवार्ड प्राप्त गरेका थिए।

किताब यात्राले आफ्नो स्थापनाको ५ वर्षको उपलक्ष्यमा आफ्नो प्लेटफर्मबाट गत ५ वर्षमा सबै भन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्दैछ। सम्मान र अवार्ड किताब जात्राको उद्घाटन समारोहमा घोषणा हुनेछ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।