एनआईसी एशिया बैंकमा भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

0
Shares

एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने भएको छ ।

यस बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गर्दै आफ्ना ग्राहक सामू नविन सेवा सुरुवात गरेको हो।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बैंकको भनाई छ ।

सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउनु हुने विदेशी तथा स्वदेशी महानुभावहरूले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गर्दै बैंकले ल्याएको यस नवीन सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभरका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।