सरकारकाे नीतिका कारण १० हजारले रोजगारी गुमाए: स्वरोजगार यातायात मजदूर संगठन

सरकारकाे नीतिका कारण १० हजारले रोजगारी गुमाए: स्वरोजगार यातायात मजदूर संगठन

स्वरोजगार यातायात मजदूर संगठनले सवारी साधनमा सरकारले लिएको २० वर्षे नीतिका कारण १० हजार स्वरोजगार मजदूरले रोजगारी गुमाउनुपर्ने अवस्था सिर्जना भएको जनाएको छ ।

संगठनले सवारी साधनमा सरकारले लिएको २० वर्षे नीतिका कारण अहिले सञ्चालनमा रहेका ८ हजारभन्दा बढी सवारी थन्किनुपर्ने अवस्थाका कारण सो संख्या बराबरका मजदूरहरुले रोजगारीबाट हात गुमाउनुपर्ने अवस्था आएको हो ।

दशैं तिहार छठ जस्ता महान चाडपर्वको मुखमा ट्राफिक प्रहरीले धमाधम सडकमा गुडिरहेका सवारी साधन समाएर अनावश्यक दुःख दिने काम गरिरहेको भन्दै संगठनले त्यसमा असन्तुष्टी व्यक्त गरेको छ ।

विश्वव्यापी आर्थिक संकटसँगै अहिले नेपालको विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा यस्ता सवारी साधनलाई सञ्चालन गरेर सञ्चिति जोगाउनुपर्ने अवस्थामा पुराना गाडी सञ्चालन गर्न पाउनुपर्ने उसको अडान छ ।

संगठनले सरकारबाट भएका यस्ता गतिविधिबारे आम सञ्चार क्षेत्रलाई जानकारी गराउने उद्देश्यले बिहीबार पत्रकार सम्मेलन समेत आयोजना गर्ने भएको छ ।

यसअघि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितले समेत २० वर्षे हदम्यादको आधारमा भन्दा पनि यान्त्रिक परीक्षण गरेर उपयुक्त सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।

‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना’अनुसार ८ हजार पुराना गाडी हटाउने तयारीमा सरकार रहेको छ । उपत्यकामा यसअघि २०७४ मा नै २० वर्ष पुराना सार्वजनिक यातायात प्रयोग गर्न निषेध भइसकेको छ । वायु प्रदुषण नियन्त्रण गर्ने उदेश्यले पनि सरकारले २० वर्ष पुराना गाडी देशभर सार्वजनिक सवारी साधन चल्न नदिने नीति लिएको छ ।

स्वरोजगार यातायात मजदूर संगठन एकीकृत ट्रेड युनियन महासंघ आवद्ध संगठन हो । यस संगठनले स्वरोजगार यातायात मजदूर र श्रमिकको सरोकार तथा हितमा काम गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ असोज २०७९, बुधबार १७ : २७ बजे