साझा कर्मचारी संङ्गठन बनाउन ऊर्जामन्त्री भुसालको आग्रह

साझा कर्मचारी संङ्गठन बनाउन ऊर्जामन्त्री भुसालको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारीलाई साझा संङ्गठन बनाउन आग्रह गरेकी छिन् ।

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ११ औँ एकता अधिवेशन कार्यक्रममा उनले फरकफरक संङ्गठनभन्दा एउटै सङ्गठन बनाएर कर्मचारीको हकहितमा लाग्न सुझाव दिइन् । “आधिकारिक ढङ्गले सबै मिलेर एउटा युनियन बनाउनुहोस्”, उनले भनिन् ।

आफू लामो समयदेखि राजनीतिमा संलग्न रहेको दृष्टान्त पेश गर्दै मन्त्री भुसालले कर्मचारीले कार्यालय समयमा राजनीति गर्न नहुने बताइन् । “कार्यालय अवधिमा कसैले पनि राजनीति नगर्नुहोस्”, उनले भनिन् , “प्राधिकरणको उन्नति र प्रगतिको मात्र कुरा गर्नुहोस् ।”

उनले प्राधिकरणको विकास तथा जनतालाई राहत र सुविधा दिने विषयमा ध्यान दिन कर्मचारीसँग आग्रह गरिन् । “प्राधिकरणमा क्रियाशील पाँच वटा कर्मचारी युनियनलाई एक बनाउनुहोस्, सकेसम्म साझा हितमा लाग्नुहोस्”, उनले भनिन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ असोज २०७९, शनिबार १२ : २९ बजे