पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो ।
प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए । आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन । आगो निभाउने काम जारी रहेको उनले बताए ।
आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ । आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकल लगायत प्रयोग गरिएको थियो ।
विराटनगरको फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाखको क्षति
विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो ।
उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए ।
विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
