शिखर इन्स्योरेन्सको मौसम सूचकाङ्कमा आधारित बाढी बीमामा बीमाशुल्क भन्दा तेब्बर दाबी भुक्तानी

0
Shares

शिखर इन्स्योरेन्स कम्पनीका मौसम सूचकाङ्कमा आधारित बीमालेखले स्थानीयमा निकै लोकप्रियता हासिल गरेको छ । कम्पनीले उक्त बीमामा बीमाशुल्क भन्दा तेब्बरसम्म दाबी भुक्तानी गर्ने गरेको जनाएको छ ।

कम्पनीले नेपालमा पहिलो पटक मौसम सूचकाङ्कमा आधारित बाढी बीमा कैलाली र बर्दियाका स्थानीय तहमा २०७९ श्रावणबाट संचालन गर्दै आएको छ । कर्णाली नदी तटिय क्षेत्रमा बाढीका कारण धान बालीको नोक्सानीको जोखिमलाई रक्षावरण गर्न कर्णाली नदीको सतह मापन सूचकाङ्कको आधारमा बिकास गरिएको बीमालेखले स्थानियमा निकै लोकप्रियता हासिल गरेको थियो ।

यस मौसम सूचकाङ्कमा आधारित बीमा योजनाले जल तथा मौसम विज्ञान बिभाग बाट जलस्तर, खडेरी, हावाको गति जस्ता मापन गर्न सकिने मौसमी अवस्थाको कारणले हुने कृषि उपजको क्षतिलाई पुर्व निर्धारित मापदण्ड अनुसार दावी परेको अवस्थामा क्षति निर्धारन गरी क्षतिपूर्ति प्रदान गर्ने कम्पनीको भनाई छ ।

२०७९ असोज १ गते कर्णाली नदीको जल सतह १०.८० मीटर जल तथा मौसम बिज्ञान कार्यालयको तथ्याङ्कको आधारमा मापन गरिए पश्चात, यस बीमा अन्तर्गत प्रथम १० प्रतिशत रकम शिखर इन्स्योरेन्स कम्पनीले बीमित किसानहरुलाई असोज २४ गते दाबी बापत दाबी रकम हस्तान्तरण गरीसकेको छ ।

असोजको अन्तिम सातातिर परेको अविरल वर्षाका कारण असोज २४ मा कर्णाली नदीको जल सतह १२.३५ मीटर भइ जल तथा मौसम बिज्ञान कार्यालयले मापन गरेका तथ्याङ्कको आधारमा यस बीमा अन्तर्गत २५ प्रतिशत रकम हाल किसानहरुलाई भुक्तानी भइरहेको जनाएको छ ।

मौसम सुचकाङ्कमा आधारीत बाढी बीमा भनेको के हो ?

नेपालको कर्णाली नदीमा शुरु गरीएको मौसम सुचकाङ्कमा आधारीत बाढी बीमालेख उत्पादनको आधारमा धानबालीको बीमा गर्ने बीमालेख हो ।

नदीको सतह १०.८० मिटरसम्म पुग्दा किसानले १० प्रतिशत बीमा बापतको रकम प्राप्त गर्ने प्रावधान रहेको छ र सो भन्दा बढी ११.८१ देखि १२.८० मिटर मापन भएपछि २५ प्रतिशत, १३.८१ मिटर देखि १४.८० मिटर मापन भएमा ७५ प्रतिशत र १४.८१ मिटर भन्दा बढी नदी सतह मापन भएमा किसानले शतप्रतिशत क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

खोलाको बहाब र बहावबाट हुने धानबाली क्षतिको मुल्याङ्कन गर्दा , बीमा दाबी भुक्तानी गर्न पर्ने वा नपर्ने यकिन गर्न चिसापानी कर्णालीस्थित बाढी मापन केन्द्रको तथ्यांक हेरी दाबी भुक्तानी गर्ने गरिन्छ, त्यसैले विपदको समयमा सबै बीमीतलाई बीमा दाबी भुक्तानी सहज र छिटो छरितो भएको कम्पनीको भनाई छ ।

बाढीको चपेटमा परेका धानबाली किसानहरुले विपदको समयमा विपदको व्यवस्थापन गरी, दावी गर्न के गर्ने भनेर सोच्ने समय सम्म दाबीको भुक्तानी भै सक्ने भएकोले, यस बाढी बीमाले बीमा प्रतिको जनमानसमा दृष्टिकोण परिवर्तन गरि बीमाको सकरात्मक प्रचारमा धेरै सहयोग पुराउने कम्पनीको विश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।