मर्जर सिनर्जीले नबिल बैंकको खुद नाफामा उच्च बढोत्तरी, ४१% ले बढ्दा डेढ अर्ब नाघ्यो

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) को खुद नाफा ४१.३० प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

नेपाल बंगलादेश बैंक गाभिएपछि बैंकको खुद नाफामा उच्च बढोत्तरी भएको हो । बैंकको समग्र सूचक वृद्धिको मुख्य कारण बंगलादेश बैंकलाई गाभ्ने नै ठूलो हो ।

नबिल बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ८५ करोड १९ लाख रुपैयाँ रहेकोमा २४२ प्रतिशतले बढेको हो ।

पहिलो त्रैमासमा बैंकले ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख बढी कर्जा प्रवाह गरेको देखिन्छ । गत आवको अन्त्यसम्मको तुलनामा ३ खर्ब २६ अर्ब २२ करोड निक्षेप संकलन गरी ३ खर्ब १ अर्ब ७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ तथा सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा खुद ब्याज आम्दानी २ अर्ब २४ करोड रुपैयाँ तथा १ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो 

चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रहेको बैंकको प्रतिसेयर आम्दानी भने ५.१० रुपैयाँले घटेर २७.०१ रुपैयाँमा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ छ । नेपाल बंगलादेश बैंक गाभेपछि त्यसको कारण बैंकको खराब कर्जा अनुपात १.१३ प्रतिशतबाट बढेर २.३३ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।