चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो ।
मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस डाउन भएको दूरसञ्चार कार्यालय भरतपुरले जानकारी दिएको छ ।
भरतपुरका दुई ठाउँ र नवलपुरको गैँडाकोटमा फाइबर काटिएको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार भरतपुर एयरपोर्ट अगाडि र सप्तगण्डकी क्याम्पस चोकमा भएको समस्या पत्ता लागेको छ भने गैँडाकोटमा अझै समस्या पत्ता लागेको छैन । भरतपुरको समस्या आज साँझसम्म समाधान गर्ने गरी काम भइरहेको उनले बताए ।
सडक विस्तारका क्रममा दूरसञ्चार कार्यालयलाई जानकारी नदिई तार काट्दा पटक–पटक समस्या हुने गरेको मिश्रले बताए । थोरै सावधानी नअपनाउँदा नागरिकलाई सास्ती र नेपाल टेलिकमलाई लाखौँ रुपैयाँ घाटा हुने गरेको उनको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया