तीन महिनामा भित्रियो २ खर्ब ८१ अर्ब रेमिट्यान्स, असोजमा ९४ अर्ब

0
Shares

चालु आर्थि वर्षको पहिलो त्रैमासको अवधि अर्थात साउनमा भदौ र असोजमा नेपालमा २ खर्ब ८१ अर्ब ५ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत आवको यसै अवधिको तुलनामा झण्डै १६.८ प्रतिशतले धेरै हो ।

नेपाल राष्ट्र बैंकका अनुसार रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपालीले २०७९ असोजमा ९४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल पठाएका छन् । जुन भदौको तुलनामा एक अर्ब कम हो । भदौमा महिनामा ९५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३१० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।