एनसीसी बैंकको सेयर कारोबार मंगलबारदेखि खुल्दै

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा मंसिर १३ गते मंगलबारदेखि खुला हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम बैंकको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । कुमारी बैंकसँगको मर्जर सम्झौतापछि रोक्का रहेको बैंकको सेयर कारोबार दुई महिनापछि खुला भएको हो । एनसीसी बैंक र कुमारी बैंकबीच गत असोज १० गते एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेप्सेले एनसीसी बैंकको मंसिर ८ गतेको पत्रानुसार बैंकको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार आजदेखि फुकुवा गरिएको जनाएको छ । सेयर कारोबार खुला भएसँगै मंगलबारदेखि नै आधारभुत सेयरधनी बाहेकले भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् । मर्जरमा जानका लागि सहमतिपत्रमा हस्ताक्षर गरेसँगै दुबै बैंकको सेयर रोक्का गरिएको थियो ।

दुवै बैंकबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको थियो । बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा तयार पारिएको डीडीए रिपोर्टमा भने कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप (१००ः९६.५९) रेसियो आएको थियो । डिडिए रिर्पोट अनुसार दश प्रतिशतभन्दा फरक नपरे सम्झौता अनुसार कै स्वाप निर्धारण हुने भएकाले कुमारी र एनसीसी बैंक समान हैसियतमा मर्जर हुनेछन् ।

मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ । मर्जरपछि बैंकको सीईओमा हाल एनसीसी बैंकका रमेशराज अर्याल हुनेछन् । यस्तै कुमारी बैंकका सीईओ रामचन्द्र खनाल बरिष्ठ डेपुटी सीईओ हुने भएका छन् । नेपाल राष्ट्र बैंकले पुँजीगत आधार ठूलो बनाउन मर्जमा जान दबाब दिएपछि बैंकहरू जोडी खोजेर धमाधम मर्जमा गएका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।