कृषकहरुलाई मलको अभाव हुन नदिन सांसद् यादव प्रतिबद्ध, सरोकारवालालाई भेटेर गराए ध्यानाकर्षण


पर्सा क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले शपथ ग्रहण नगर्दै कृषकको समस्यालाई प्राथमिकताका साथ दिएका छन् । कृषकका समस्यालाई गम्भिर रुपमा लिँदै यादवले कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुखसँग भेटेर छलफल गरेका छन् ।

छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वर्षौंदेखि किसानले खेप्दै आएको मल अभावको समस्या सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । समयमा मल नपाउने र पाएपनि सबैले नपाउने एवम् पर्याप्त मात्रामा नपाउने जस्ता समस्याहरु अबको दिनमा सुन्न नपर्ने किसिमले समन्वयकारी भूमिका निर्वाह गर्न यादवले कार्यालय प्रमुख चन्द्र प्रसाद चौलागाईलाई निर्देशन दिएका छन् ।

आवश्यक मलको उपलब्धताका लागि अहिलेसम्म भइरहेका समस्या एवं कठीनाईहरु आफुलाई जानकारी गराउन आग्रह गर्दै यादवले नीतिगतदेखि अन्य संरचतागत एवम् संस्थागत बाधा अड्चनलाई समाधान गर्ने बताए । उनले भने, ‘अहिले जे जति मल मौज्दात छ त्यो गाँउमा छिट्टै पठाइ दिनुस्, बाँकी सरकारको नीतिगत समस्या जुन छ त्यसलाई समाधानका लागि म संसद्मा आवाज उठाउँछु ।’ उनले सरकारी अनुदानलको मल बिचौलियाको कब्जामा पुग्दा किसानले सहज रुपमा नपाएको व्यापक जनगुनासो पनि रहेकाले यस बारे पनि कार्यालय प्रमुख चौलागाईको ध्यानाकर्षण गराए ।

चौलागाईलाई निर्देशन दिँदै यादवले भने, ‘नेपालमा मलको कारखाना छैन त्यस कारण चाहिए जति मल किसानले पाउन सकेका छैनन्, यद्दपी विदेशबाट जेजति आउँछ त्यो पनि किसानले बिचौलियाका कारण पाइरहेका छैनन्, यस बारे पनि ध्यान दिनुहोला ।’

चुनावको प्रचार ताका मतदाता सामु गरेका बाचा पूरा गर्न यादवले अग्रसरता देखाएका हुन् । चुनाव प्रचारका बेला मत माग्ने क्रममा उनले कृषि र किसानका विद्यमान समस्या आफ्नो प्रमुख प्राथमिकतामा रहने बाचा गरेका थिए । त्यही बाचा अनुरुप यादवले किसानका लागि सहज रुपमा मल आपूर्तिको व्यवस्था मिलाउन चौलागाईको ध्यानाकर्षण गराएका हुन् ।

अहिले गहुँ र दलहन बालीको सिजन चलिरहेको भएपनि डिएपी मल नपाएर किसानहरु समस्यामा परेको भन्दै यादवले यथाशीघ्र व्यवस्था मिलाउनुपर्ने बताए । कार्यालयसँग अहिले मौज्दात मल, जिल्लाका सबै पालिकामा समयमै पठाएर कृषि सहकारी संस्थाहरु मार्फत किसानलाइ सहज रुपमा उपलब्ध गराउन उनले चौलागाईलाई निर्देशन पनि दिए ।

कार्यालय प्रमुख चौलागाइले कार्यालयमा अहिले युरिया मल प्रयाप्त मौज्दात रहेपनि डिएपि मलको मौज्दात थोरै रहेकाले वितरणमा समस्या भएको बताएका थिए । चौलागाईले नीतिगत समस्याहरुको कारण पनि मल आभाव हुनभएकोले त्यसलाई पहल गर्न सांसद् यादवसँग आग्रह पनि गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७९, बुधबार १२ : २९ बजे