बतास फाउन्डेसनद्धारा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

0
Shares

बतास फाउन्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ ।

गण्डकी प्रदेशकै ठुलो सरकारी अस्पतालमा हस्तान्तरण गरीएको उक्त प्लान्टले दैनिक १ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालद्वारा आवश्यक पूर्वाधार निर्माण भएपश्चात उक्त प्लान्ट जडान गरीने जनाइएको छ ।

अक्सिजन अभावका कारण कोभिड महामारीमा सङ्क्रमितले उपचार पाउन नसकेको तितो यथार्थलाई हृदयङ्गम गर्दै बतास फाउन्डेसनले गत वर्षको सुरुवाती महिनामा उच्च क्षमताको अत्याधुनिक अक्सिजन प्लान्ट स्थापनाका लागि रकम सङ्कलन अभियान सुरु गरेको थियो ।

बतास फाउन्डेसन र बतास अर्गनाइजेसनबाट गरी कुल ५५ लाख रुपैयाँ बीउ पुँजी राखेर ‘रु. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ चलाइएको अभियान अन्तर्गत कर्पोरेट हाउसहरू र पोखरेली जनसमुदायको सहभागिता मार्फत ३ करोड ४५ लाख १७ हजार ५५५ रुपैयाँ सङ्कलन भएको थियो ।

फाउन्डेसनले २०७८ जेठमा नै फ्रान्समा प्लान्ट खरिद गरिसकेको थियो । तर, अघिल्लो सरकार कार्गो कम्पनी र आयातकर्ताबिचको असमझदारीका कारण प्लान्ट ल्याउन ढिलाइ भएको संस्थाले जनाएको छ । पछिल्लो समयमा भने रुस–युक्रेन युद्धका कारण कार्गो ढुवानीमा समस्या आउँदा थप विलम्ब भएको जनाएको छ ।

परिणामतः प्लान्ट एयर कार्गोबाट ढुवानी गर्ने सम्झौता भए पनि सो सम्भव नभएपछि जल तथा स्थल मार्गमार्फत ढुवानी गरी हस्तान्तरण गरेको हो । अक्सिजन प्लान्ट हस्तान्तरण समेत भइसकेको अवस्थामा यसको सम्पूर्ण आयव्यय विवरण निकट भविष्यमा नै सार्वजनिक गर्ने फाउन्डेसनले बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।