त्रिवेणी र शिवशक्ति ग्रुपको महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीले गर्यो साढे ६ अर्बको कारोबार

0
Shares

व्यापारिक घराना त्रिवेणी र शिवशक्ति ग्रुपको संयुक्त लगानीमा स्थापना भएको महालक्ष्मी सल्भेन्ट एन्ड रिभाइनरी उद्योगले ६ अर्ब ४९ करोड ६० लाख बराबरको कारोबार गरेको छ ।

गतवर्षको तुलनामा यो वर्ष उद्योगको आम्दानी १ अर्ब ४२ करोडले बढेको हो । सन् २०२१ मा कम्पनीले ५ अर्ब ७ करोड ६० लाख (लेखापरीक्षण भएको) आम्दानी गरेको थियो । यस वर्ष उक्त आम्दानी २८ प्रतिशतले बढेर ६ अर्ब ४९ करोड ६० लाख पुगेको हो । आम्दानी बढेका कारण कम्पनीका अरु वित्तीय सूचांकहरु समेत बलियो देखिएका छन् ।

डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफा कुल आम्दानीको १०.८८ प्रतिशत रहेको छ । कम्पनीका सेयरधनीहरुको सेयर र कर्जाको अनुपात (गियरिङ रेसियो) १.४४ रहेको छ । यसैगरी कम्पनीले कर्जाको ब्याज भुक्तान गर्न सकने क्षमता कर्जाको ५.९९ गुणा रहेको छ ।

सन् २००९ मा स्थापना भएको उद्योगले पाम आयल र सोयाबिन आयलको उत्पादन तथा प्रशोधन गर्दै आएको छ । उद्योगको प्रशोधन क्षमता प्रति वर्ष ५६ हजार मेट्रिक टन रहेको छ ।

बाराको लिपनीमालमा अवस्थित उद्योग विरगंज नाकाबाट १५ किलोमिटर दूरीमा रहेको छ । नाकाबाट नजिक हुँदा उद्योगलाई कच्चा पदार्थ आयात गर्न र प्रशोधित तेल भारतमा निर्यात गर्न सहज भएको छ । उद्योगले सन् २०२२ मा कुल बिक्रीको ७४ प्रतिशत भारतलाई निर्यात गरेको छ । कुल आम्दानी मध्ये ४ अर्ब ७७ करोड बराबरको पाम आयल र सोयाबिन तेल उद्योगले भारत निर्यात गरेको छ ।

तरपनि कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर हुँदा तयसको प्रभाव उद्योगको सञ्चालन आम्दानीमा परेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले ३/३ महिनाको अन्तरमा बढाउदै आएको ब्याजदरका कारण पनि उद्योगको उत्पादनमा समस्या परेको छ ।

नेपालमा तेल प्रशोधन गर्ने उद्योगहरुको सङ्ख्या बाक्लो रहेको छ । जसकारण बजारमा प्रतिस्पर्धा उच्च रहेको छ । उच्च प्रतिस्पर्धाका बीच उद्योगले आफूलाई स्थापित गराउन पनि विभिन्न बाधाहरुको सामना गर्दै आएको छ ।

तथापि विभिन्न बाधाहरुका बावजुद पनि उद्योगलाई त्रिवेणी तथा शिवशक्ति जस्ता व्यापारिक घरानाहरुको सहयोग र प्रवद्र्धन रहँदा उद्योगले राम्रो प्रर्दशन गरिरहेको छ । उद्योगका वित्तीय सूचांकहरु सकरात्मक रहँदा कर्जा प्राप्तिमा सहजता भएको छ ।

उद्योगले ४ अर्ब ४२ करोड ८४ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन बैकिङ कर्जाका लागि रेटिङ गराएको छ । इन्फोमेरिक्स नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए४ प्लस रेटिङ गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।