एनसीसी बैंकको एसजीएमबाट मर्जर प्रस्ताव अनुमोदन, एकीकृत बैंकको चुक्ता पुँजी २६ अर्ब नाघ्ने

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को आइतबार सम्पन्न भएको विशेष साधारण सभा (एसजीएम) बाट कुमारी बैंक लिमिटेडसँग एक आपसमा समान हैसियतामा मर्जर हुने प्रस्ताव पारित भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा आइतबार अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभीने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको हो ।

साथै, विशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको सेयर स्वाप अनुपात १ः१ पारित गरेको छ ।

यस्तै सभाबाट एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन भएको छ ।

साथै एक आपसमा गाभिने सम्बन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ ।

मर्जर सम्पन्नपछि बैंकको चुक्ता पूँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुनेछ । यस्तै शाखा संख्या ३५५, एटीएम संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, ग्राहक निक्षेप ३ खर्ब १ अर्ब तथा लगानीमा रहेको कर्जा २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी हुनेछ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।