तरलतामा सुधार आएपनि ब्याजदर नघट्ने भएपछि सेयर बजार शिथिल

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिनेक्रम जारी रहँदा तरलतामा सुधार आएपनि तत्काल ब्याजदर नघट्ने भएपछि सेयर कारोबारमा शिथिलता आएको छ ।

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने चर्चाले सोमबारको सेयर बजारमा करिब १७ अंकको सुधार आएको थियो । तर, नेपाल बैंकर्स संघले पुस महिनाका लागि यसअघि कायम ब्याजदर नै लागू गर्ने निर्णय गरेपछि सेयर लगानीकर्ताको मनोबलमा गिरावट आउँदा मंगलबारको सेयर बजारमा कारोबारसँगै सूचक ओरालो लागेको छ ।

बैंकर्स संघले मंगलबार मात्रै मंसिरकै ब्याज दरलाई पुसमा पनि निरन्तरता दिने निर्णय गरेको हो। मंसिरमा साधारण मुद्दतीको ब्याज दर १२.१३३ प्रतिशत तथा साधारण बचतको उच्चतम ब्याज दर ९.१३३ प्रतिशत छ। त्यस्तै पुसमा पनि एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.१३३ प्रतिशत कायम हुनेछ । पुस महिनाका लागि पनि यही ब्याजदरले निरन्तरता पाउनेछ। गत कात्तिकदेखि वाणिज्य बैंकहरूले निक्षेपको ब्याज बढाएका छैनन् ।

मंगलबार सेयर बजार सूचक नेप्से २.५७ अंकले घटेर १८९९.७० विन्दुमा झरेको छ । यसदिन २४८ कम्पनीको ७७ करोड ७० लाख ८९ हजार बराबरको मात्र सेयर किनबेच भयो । ब्याजदर घट्ने अपेक्षामा सोमबार नेप्से सूचक करिब १७ अंकले उकालो लागेको थियो । सोमबार १ अर्ब ३६ करोड बराबरको सेयर किनबेच भएको थियो । ब्याजदर नघट्ने भएपछि सेयर कारोबारमा शिथिलता आएको छ । मंगलबार अघिल्लो दिनको तुलनामा कारोबार रकम ५९ करोडले घटेको हो । 

ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले पुसमा पनि निक्षेपको ब्याजदर स्थिर राखिएको संघको भनाई छ । पुसमा तरलताको अवस्थाका आधारमा माघमा ब्याजदर बढाउने वा घटाउने भन्ने निर्णय गर्ने संघले जनाएको छ। तर, पछिल्लो समयमा भने वित्तीय प्रणालीको तरलतामा सुधार हुँदै गएको छ । तरलतामा सुधार आएसँगै अन्तरबैंकदर घटेको छ भने बैंकहरुले एसएलएफ उपयोग समेत घटाउँदै लगेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  १५ : २५ बजे