नेपाल आर्थिक पत्रकार संघ (नाफिज) बाट सन्तोष रोकाया र सम्झना घिमिरे पुरस्कृत भएकी छिन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभा तथा छैटौं महासभाले बुधबार विकासन्युज डटककमका रोकाया र शिलापत्र डटकमा कार्यरत घिमिरेलाई जनही ५० हजार रुपैयाँको राशी सहित पुरस्कृत गरेको हो ।
रोकाया भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने घिमिरे भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी हुन् ।
उक्त पुरस्कारका लागि डेढ दर्जन पत्रकारहरुले आवेदन दिएका थिए । सोमध्ये उत्कृष्ट समाचारलाई छनोट गरेर पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका श्रीधर खनालले बताए । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल लगायतले संयुक्त रुपमा उनीहरुलाई प्रमाणपत्रसहित चेक हस्तान्तरण गरेका थिए ।

रोकाया बैंकिङ र सहकारी क्षेत्रलाई मुख्य विधा बनाएर कलम चलाउँदै आएका छन् । रोकायाले पछिल्लो समय सहकारीमा भइरहेको विकृति र सकारात्मक अभ्यासको विषयमा पनि नियमित रुपमा कलम चलाइहरेका छन् ।
नाफिजले भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार र भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार पहिलो पटक घोषणा गरेको थियो । पूर्व अर्थमन्त्री समेत रहेका स्वर्गीय भरतमोहन अधिकारीको स्मृतिमा ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’को सहकार्यमा नाफिजले यो पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा यो फाउण्डेसन स्थापना भएको जानकारी गराउँदै आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिका साथसाथै असल पत्रकारिता अभ्यासमा प्रोत्साहन लागि नाफिजसँग सहकार्य गरर पुरस्कारको स्थापना गरिएको बताइन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
