नबिल बैंकले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

0
Shares

नबिल बैंकले पुस २९ गते शुक्रबार बैंकको ३८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । लाभांश प्रसतव सहितका अन्य एजेण्डाहरु पारित गर्न बैंकले सो दिन सभा डाकेको हो । बैंक सञ्चालक समितिको पुस ४ गते सम्पन्न भएको बैठकको निर्णयानुसार बैंकको ३८ औं वार्षिक साधारण सभा पुस २९ गते शुक्रवार बिहान १० बजे सिल्भर ओक ब्याङक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बस्नेछ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट बैंकको चुक्ता पुँजीको १८.५० प्रतिश अर्थात ४ अर्ब २२ करोड ४० लाख ८८ हजार ९६ दशमलव ९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले प्रत्येक १०० सेयर बराबर १८.५० बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि गरी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ दशमलव २६ रुपैयाँ पुयाउन स्वीकृति दिनेछ ।

यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चूक्ता पूँजीको ११.५० प्रतिशत दरले हुन आउने २ अर्ब ६२ करोड ५७ लाख ८४ हजार ४९२ दशमलव ६८ रुपैयाँ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्नेछ ।

अर्को एजेण्डामा नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नरगाभिन (मर्जर गर्न) वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांनका लागि मूल्याङ्गनकर्ता नियुक्त गर्ने, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वित्तीय विवरण र आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ । यसैगरी बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग, नेपाल बङ्गलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ । संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा ३ जनाको निर्वाचन गर्ने र बैंकको अधिकृत पूँजी वृद्धि गरी २८ अर्ब रुपैयाँ पुर्याइने प्रस्ताव पनि सभामा रहेको छ ।

बैंकको प्रबन्धपत्रको दफाहरु तथा नियमावलीको नियमहरुको संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने प्रस्ताव सभामा छ । साथै आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्नेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ (बोनस तथा नगद) पुस १८ गते सोमबार बैंकको सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयर लगानीकर्ताले मात्र बैंकको प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।