आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न टेलिकमको आग्रह

0
Shares

नेपाल टेलिकमले ग्राहकलाई आफनै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्न अनुरोध गरेको छ ।

राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग अनिवार्य गर्न थालिएको छ । यस्तो अवस्थामा ग्राहक स्वयंमको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङ लगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने बताएको छ ।

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्ने खालका समस्या सृजना हुन सक्नेमा टेलिकमले सचेत गराएको छ ।

त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाई छ । तसर्थ नेपाल टेलिकमले ग्राहकलाई आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित लिन आग्रह गरेको छ ।

टेलिकमले नयाँ सिमकार्ड लिंदा वा सिमकार्ड परिवर्तन गर्दा आवेदन फाराममा आवश्यक विवरणहरु स्पष्ट रुपमा भर्न समेत भनेको छ । ग्राहकको नाम, ठेगाना, परिचयपत्र जारी भएको जिल्ला र मिति तथा आधिकारिक परिचय पत्र नम्बर र सम्पर्क नम्बर स्पष्ट रुपमा लेख्न टेलिकमले आग्रह गरेको छ ।

स्वयं उपस्थित हुने ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराइनेछ र परिचयपत्रको प्रतिलिपीलाई सक्कल परिचयपत्रको नाम, बुवाको नाम, परिचय पत्र नम्बर र जारी भएको मिति र जिल्लाका आधारमा रुजु गरिने टेलिकमले जनाएको छ ।

सिमकार्ड बिग्रेर, हराएर वा अन्य कारणले सिमकार्ड परिवर्तन गर्नुपर्ने भएका ग्राहक स्वयं उपस्थित भइ सिमकार्ड परिवर्तनको फाराम पूर्ण रुपमा भरेको/नभरेको जाँच पश्चात ग्राहकको परिचय पत्रको सक्कल र नक्कल लगायतका विभिन्न कागजात रुजु गरी सिमकार्ड उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

ग्राहक स्वयं उपस्थित नभई अर्को व्यक्तिको नाममा दर्ता रहेको सिमकार्ड लिन आएको अवस्थामा ग्राहक स्वयं उपस्थित हुन नसक्ने कारण सहित ग्राहकको मञ्जुरिनामा र सक्कल परिचयपत्रका आधारमा मात्रै प्रतिलिपि सिमकार्ड उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यस्तै, कुनै ग्राहक अशक्त भएमा मञ्जुरिनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, लिन आउने व्यक्तिको सक्कल परिचयपत्र सहित उपस्थित भएमा मात्रै प्रतिलिपि दिइनेछ । कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्र सहित उपस्थित भएमा मात्रै सिमकार्ड उपलब्ध गराइने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।