एभरेष्ट बैंकले पुस २५ गतेदेखि २ अर्बको ऋणपत्र निष्काशन गर्दै

0
Shares

एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि २ अर्ब मूल्यको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता (४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि समेत) सेयर सर्वसाधारणमा जारी हुनेछ । बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता इकाई भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

दश वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ मा लगानी गर्नेले वार्षिक साढे ७ प्रतिशत ब्याजदर पाउनेछन् । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरेको मेरो सेयर मोबाइल एप, मेरो सेयरको वेवसाइटबाट अनलाइन माध्यम आवेदन दिन सकिन्छ । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट समेत आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । सो ऋणपत्रको निष्काशन बन्द छिटोमा पुस २९ गते हुनेछ भने उक्त अवधिमा सबै बिक्री नभएको खण्डमा भने ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सकिन्छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।